• २० फागुन २०८१, मङ्गलबार

‘अनुशासनमा ल्याउन धार्मिक भाव आवश्यक’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन १६ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई धार्मिक भावले बलियो बनाउने बताउनुभएको छ । धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन) को बिहीबार पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरपरिसरमा शुभारम्भ गर्नु हुँदै उहाँले मानिसलाई आत्मानुशासनमा ल्याउन धार्मिक भाव र लोकतान्त्रिक भाव आवश्यक पर्ने बताउनुभयो । धार्मिक भाव र लोकतान्त्रिक भावले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई सबल बनाउने मन्त्री पाण्डेको भनाइ छ ।

“पशुपति क्षेत्रमा आउने मानिस धार्मिक भावका हुन्छन्, यस्तो भाव हुनेले जताततै फोहोर गर्नुभएन, आफूले गरेको फोहोर सही स्थानमा व्यवस्थापन गर्नु पर्छ, आत्मानुशासन हुने गरेकै कारण कति देशमा सडकमा ट्राफिक बस्नु पर्दैन, हामी पनि धार्मिक र लोकतान्त्रिक भावले त्यही मार्गमा अघि बढ्नु पर्छ,” उहाँले भन्नुभयो । धर्म र संस्कृतिका क्षेत्रमा कलम चलाउने पत्रकार अरूका तुलनामा अनुशासित एवं उदाहरणीय बन्नुपर्ने मन्त्री पाण्डेको भनाइ थियो । धर्म, संस्कृतिका क्षेत्रमा कार्यरत सञ्चारकर्मीले विश्वसनीय बनेर देखाउन आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।

समाजका अध्यक्ष पूर्णप्रसाद मिश्रले विसं २०७६ देखि अनौपचारिक मञ्चका रूपमा काम गरिसकेपछि धर्म, संस्कृतिका विषयमा कलम चलाउने पत्रकारको अनुरोध अनुसार वैधानिक संस्थाको स्वरूप दिइएको बताउनुभयो । कार्यक्रममा समाजका महासचिव अच्युत अर्याल, सदस्य अच्युतप्रसाद सुवेदीलगायतले धर्म, संस्कृतिका क्षेत्रमा कार्यरत सञ्चारकर्मीलाई एकीकृत गरी संस्था अघि बढ्ने बताउनुभएको थियो ।