गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन १६ गते । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट लेखनका लागि अर्थ मन्त्रालयले बजेट लेखन समिति गठन गरेको छ ।
समितिका संयोजकमा बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपाल हुनुहुन्छ । सदस्यहरूमा वैदेशिक महाशाखा प्रमुख धनीराम शर्मा, राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्री, प्रशासन महाशाखा प्रमुख थानप्रसाद पङ्गेनी, आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तीर्थ चिलुवाल र सहमहालेखा नियन्त्रक सुशीला अर्याल रहेको मन्त्रालयले जनाएको छ ।
बजेटको सिद्धान्त तथा प्राथमिकता निर्धारण, मन्त्रालयगत आयोजना, कार्यक्रमको प्राथमिकीकरण गर्न सहजीकरण, बजेट वक्तव्यको मसौदा तयार गर्नुका साथै नीति तथा कार्यक्रममा सुझाव पेस गर्ने कार्यसमितिको जिम्मेवारीमा रहेको संयोजक नेपालले जानकारी दिनुभयो ।
यसैबिच अर्थ मन्त्रालयले राष्ट्रिय योजनाबाट स्रोत समितिको निर्णयबमोजिम प्राप्त भएको बजेटको सीमाभित्र रहेर चालु, पुँजीगत, वित्तीय व्यवस्था तथा अन्तरसरकारी वित्त हस्तान्तरणको मन्त्रालयगत सीमा तथा प्रदेश र स्थानीय तहका लागि वित्तीय हस्तान्तरणको सीमा उपलब्ध गराएको छ ।
आर्थिक कार्यविधि तथा उत्तरदायित्व ऐनमा फागुन १५ सम्ममा आगामी आवको बजेटको सीमा तथा बजेट तर्जुमासम्बन्धी मार्गदर्शन पठाउने व्यवस्था छ ।
त्यसै गरी अर्थ मन्त्रालयले समानीकरण अनुदानको सीमा राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगलाई उपलब्ध गराएको छ । समपूरक र विशेष अनुदानको सीमा राष्ट्रिय योजना आयोग र ससर्त अनुदानको सीमा सम्बन्धित विषयगत मन्त्रालयहरूलाई उपलब्ध गराएको छ ।
राष्ट्रिय गौरवका आयोजना र मुख्य मुख्य आयोजनाका लागि बजेट एयरमार्क गरी पठाइएको मन्त्रालयले जनाएको छ ।