गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन १६ गते । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले इजरायलका राजदूतमार्फत नेपालमा लगानी गर्न इजरायली लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।
नेपालका लागि इजरायली राजदूत स्मुलिक आरी बाससँग बिहीबार महासङ्घ सचिवालय टेकुमा भएको भेटका अवसरमा अध्यक्ष ढकालले सो आग्रह गर्नुभएको हो । भेटका अवसरमा दुई देशबिच आपसी सम्बन्ध सुधार, आर्थिक विकास तथा व्यापार प्रवर्धनका विषयमा छलफल भएको महासङ्घ सचिवालयले जनाएको छ ।
नेपालको कृषि क्षेत्रको विकास एवं नेपाली युवालाई रोजगारी प्रदान गर्ने विषयमा इजरायलले लामो समयदेखि सहयोग गर्दै आएको उल्लेख गर्दै अध्यक्ष ढकालले यो सम्बन्धलाई थप प्रभावकारी बनाउने गरी सहकार्य गर्न राजदूत बाससमक्ष आग्रह गर्नुभयो ।
इजरायली राजदूत स्मुलिक आरी बासले नेपाल र इजरायलबिच लामो सम्बन्ध रहिआएको चर्चा गर्दै आफ्नो कार्यकालमा नेपालको आर्थिक तथा सामाजिक विकासमा सक्दो योगदान गर्ने प्रतिबद्धता
व्यक्त गर्नुभयो ।