गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन १६ गते । खुला प्रतिस्पर्धाबाट छनोट भएर नियुक्तिका लागि सिफारिस गरिएका शिक्षकलाई विभिन्न स्थानीय तह तथा विद्यालयले पदस्थापन गर्न मानेका छैनन् । पदस्थापन गर्न नमान्दा नियुक्तिपत्र लिएर गएका शिक्षकले हाजिर गर्न पाएका छैनन् । स्थानीय तह र विद्यालयले विभिन्न बहाना बनाउँदै हाजिर गर्न नदिएपछि शिक्षक सेवा आयोगले सञ्चालन गरेको खुला प्रतिस्पर्धाबाट छानिएर गएका शिक्षक भौँतारिरहेका छन् ।
पछिल्लो समय भक्तपुरको भक्तपुर नगरपालिका अन्तर्गत पदस्थापनका लागि सिफारिस गरिएका शिक्षकले यस्तो हैरानी बेहोरिरहेका छन् । शिक्षा विकास तथा समन्वय एकाइ भक्तपुरले हालै सिफारिस गरेका निम्नमाध्यमिक तहमा विभिन्न दुई जनालाई विविध बहाना बनाएर हाजिर गर्नबाट वञ्चित गराइएको छ ।
समन्वय एकाइबाट अपाङ्गता कोटामार्फत अङ्ग्रेजी विषयका लागि सिफारिस भएका शिक्षक सुना घतानीलाई नगरपालिकाले तत्काल उक्त विषय शिक्षक आवश्यकतै नरहेको भन्दै हाजिर गराएको छैन । नगरपालिकाका शिक्षा शाखाका प्रमुख साधुराम फुयालले गत वर्ष समन्वय एकाइबाट रिक्त दरबन्दीको कोटा केन्द्रमा पठाउँदा झुक्किएर दुई पटक पठाइएकाले समस्या आएको दाबी गर्नुभयो ।
समन्वय एकाइबाट गत माघ ३० गते सिफारिसपत्र लिनुभएका अर्का शिक्षक कृष्णमाया बस्नेतले पनि अझै हाजिर गर्न पाउनु भएको छैन ।
नगरपालिकाले भारवाचोस्थित गणेश माध्यमिक विद्यालयमा पदस्थापनाका लागि पठाए पनि विद्यालयले हाजिर गराउन नमानेको हो । उक्त विद्यालयमा भने व्यवस्थापन समितिले पूर्णता नपाएको भन्दै हाजिर गराउन नसकिएको तर्क नगरपालिका तथा विद्यालयले गरेको छ ।
“शिक्षकलाई हाजिर किन नगराएको भनेर विद्यालयका प्रधानाध्यापकलाई सोध्दा व्यवस्थापन समितिले पूर्णता नपाएर भन्ने जवाफ दिनुभयो,” शिक्षा शाखाका प्रमुख फुयालले भन्नुभयो, “अब एक दुई दिन हेर्छौं, त्यतिबेलासम्म पनि हाजिर गराउनु भएन भनेर लिखित पत्राचारै गरेर उक्त शिक्षक कोटालाई अर्को विद्यालयमा सारिदिन्छौँ ।”
नगरपालिकाबाट पदस्थापन गरेर पठाएको शिक्षकलाई हाजिर गराउने अधिकार सम्बन्धित विद्यालयका प्रधानाध्यापकको हुन्छ । उक्त विद्यालयका प्रधानाध्यापक गणेशराम थुसाले भने भविष्यमा सँगै काम गर्नुपर्ने भएकाले व्यवस्थापन समितिसँग सल्लाह नगरी नयाँ शिक्षकलाई हाजिर गराउन नसकिएको बताउनुभयो ।
तीनबर्से कार्यकाल सकिएका कारण अहिले उक्त विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पद रिक्त छ । छिट्टै समितिलाई पूर्णता दिएर नयाँ शिक्षकलाई हाजिर गराउने पनि उहाँले बताउनुभयो ।