यज्ञप्रसाद सापकोटा
गुलरिया (बर्दिया), फागुन १५ गते । बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् ।
बर्दियाको ठाकुरबाबा नगरपालिका ३ बगनाहस्थित भुरिगाउँबाट बनकट्टितर्फ जाने क्रममा भे १२ प ११०८ नं को मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार ६० वर्षिय दरवारीया थारूको मृत्यु भएको छ । मोटरसाइकल चालक ६० बर्षकै माक्खुराम थारू घाइते हुनुभएको छ ।
मोटरसाइकल दुर्घटना पश्चात् घाइते भएका दुवै जनालाई नगर अस्पताल भुरिगाउँ लगिएको थियो । अस्पतालमा चेकजाँच गर्दा मोटरसाइकलमा सवार दरवारीया थारूलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
गम्भीर घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ । दुर्घटना तिव्र गतिका कारण भएको हो वा कुनै सवारी साधनले ठक्कर दिएको भन्ने बारेमा हालसम्म खुल्न नसकेको जिल्ला प्रहरी नायब उपरीक्षक ऋषीराम घर्तिमगरले बताउनुभयो । घटना बारे अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।