• १६ फागुन २०८१, शुक्रबार

नयाँ शैक्षिक सत्रका लागि आइपुग्यो पुस्तक

blog

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगन्जको गोदाममा राखिएका नयाँ शैक्षिकसत्रका पाठ्यपुस्तक । तस्बिरः गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, फागुन १५ गते । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिकसत्र २०८२ का लागि छापेको पाठ्यपुस्तक नेपालगन्ज आइपुगेको छ । लुम्बिनी र कर्णालीका विभिन्न जिल्लामा पाठ्यपुस्तक बिक्री वितरण गर्नका लागि लिमिटेडको नेपालगन्जस्थित गोदाममा सो पाठ्यपुस्तक आइपुगेको हो ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगन्जका प्रमुख होमराज ढुङ्गेलले लुम्बिनी र कर्णालीका विभिन्न जिल्लाका लागि विक्री वितरण गर्न केन्द्रबाट आवश्यक पाठ्यपुस्तक नेपालगन्ज आइसकेको बताउनुभयो । केन्द्रबाट प्राप्त भएका पुस्तकमध्ये पहिलो चरणमा कर्णालीको हुम्लाका लागि वितरण भइसकेको उहाँले जानकारी दिनुभयो ।

कर्णाली र लुम्बिनीका जिल्लामा वितरण गर्नका लागि फागुनको पहिलो हप्तामा आवश्यक पाठ्यपुस्तक कार्यालयको नेपालगन्जस्थित गोदाममा आइपुगेको उहाँले बताउनुभयो । “लुम्बिनी र कर्णालीका केही जिल्लाका लागि आवश्यक पाठ्यपुस्तक नेपालगन्ज गोदाममा आइसकेको छ, प्राथमिकताअनुसार हिमाली, पहाडी र तराइका जिल्लामा क्रमशः पुस्तक वितरण गर्दैछौँ ।” 

प्रमुख ढुङ्गेलले भन्नुभयो, “केही दिनअघि कर्णालीको हुम्लाका लागि पुस्तक वितरण कार्य गरिसकेका छौँ, हुम्लाका तीनजना विक्रेताहरु आएर त्यहाँ आवश्यक पुस्तक लगिसक्नुभएको छ, अब केही दिनमा डोल्पाका लागि पठाउँदैछौँ ।”

उहाँका अनुसार नयाँ शैक्षिकसत्रका लागि हुम्लामा ४६ हजार ४८९ थान पुस्तक पुगिसकेको छ । सबै पाठ्यपुस्तक सेटमा रहेकाले विद्यार्थीले विद्यालय खुलेको पहिलो दिनमै सम्पूर्ण पाठ्यपुस्तक पाउनेगरी तालिका बनाएर वितरण गर्ने योजना बनाइएको र चैतको दोस्रो साताबाट तालिका अनुसार वितरण गरिने उहाँले बताउनुभयो । 

नेपालगन्ज कार्यालयमार्फत कर्णालीका हुम्ला, डोल्पा, रुकुमपश्चिम्, जाजरकोट र सल्यानगरी पाँच जिल्ला तथा लुम्बिनी प्रदेशका रुकुमपूर्व, रोल्पा, दाङ, बर्दिया र बाँकेगरी पाँचगरी १० जिल्लामा पाठ्यपुस्तक वितरण हुने उहाँले बताउनुभयो ।

गत वर्ष नेपालगन्ज कार्यालयबाट १० जिल्लामा १९ करोड ६० लाख ५० हजार ६२६ रुपियाँ बराबरका १४ लाख ४६ हजार १६ थान पाठ्यपुस्तक वितरण गरिएको र यो वर्ष करिब १६ लाख थान पुस्तक वितरण गरिने लक्ष्य राखिएको उहाँले बताउनुभयो । 

गत वर्षसम्म जनक शिक्षाले कक्षा ५ देखि १२ कक्षासम्मका पुस्तक वितरण गरेकोमा यस वर्षबाट कक्षा ३ को समेत वितरण गरिने हुँदा विक्री बढी हुने अनुमान गरिएको उहाँले बताउनुभयो ।

तीन वर्ष अघिसम्म पुस्तक समयमा नपुग्ने समस्या रहे पनि त्यसयता भने लगातार शैक्षिकसत्र सुरु हुनुअगावै पुस्तक गोदाममा आउने र वितरण गर्ने गरिएकाले पुस्तक अभाव हुने समस्या नरहेको उहाँको भनाइ छ । 

प्रादेशिक प्रेस नेपालगन्जले गत वर्ष पनि समयमै सहजरुपमा सबै ठाउँमा पाठ्यपुस्तक पुगाएको र अहिले पनि समयमा नै विद्यार्थीका हातमा सबै पाठ्यपुस्तक पुगाउने प्रमुख ढुङ्गेलले बताउनुभयो ।

जनका शिक्षा सामग्री केन्द्रले विराटनगर, पोखरा, भरतपुर, जनकपुर, बुटवल, सुर्खेत, नेपालगन्ज, धनगढी र काठमाडौँ गरी ९ स्थानमा रहेका आफ्नो विक्री केन्द्रबाट पाठ्यपुस्तकहरु वितरण गर्दैआएको छ ।