• १५ फागुन २०८१, बिहिबार

विश्व शान्तिका लागि खुला म्याराथन प्रतियोगिता

blog

म्याराथन र साइकल र्‍यालीबारे जानकारी दिँदै जेसीस लमजुङका पदाधिकारी । तस्विर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, फागुन १५ गते । विश्व शान्तिको कामना गर्दै लमजुङमा खुला म्याराथन प्रतियोगिता हुने भएको छ । लमजुङ जेसीस–२०२५ ले चैत २३ गते चैते दशैंका दिन खुला म्याराथन प्रतियोगिता आयोजना गर्न लागेको हो । 

२६ किलोमिटर दुरीको म्याराथन प्रतियोगिता लमजुङको बेसीसहर नगरपालिका–१० पिसहिलदेखि मर्स्याङ्दी गाउँपालिकाका केही भाग हुँदै वडा नं. ३ को गाउँसहर दरबार पुगेर टुङ्गिने लमजुङ जेसीस–२०२५ का अध्यक्ष प्रतिजंग तामाङले जानकारी दिनुभयो । 

“धार्मिक तथा पर्यटकीय सौन्दर्यले भरिपूर्ण पिसहिल र गाउँसहर दरबारलाई म्याराथनका माध्यमले देश विदेशमा चिनाउन प्रतियोगिताको आयोजना गरिएको हो”, अध्यक्ष तामाङले भन्नुभयो । धावकहरु पिसहिलदेखि भुष्मे, हात्तीरुख, सिम्पानी, बेंसीसहर हुँदै गाउँसहर दरबार पुग्नेछन् । यो प्रतियोगिताले पिसहिलको द्वन्द्वकालीन र गाउँसहर दरबारको ऐतिहासिक पक्षको उजागर गर्न सहयोग पुग्ने जेसीस–२०२५ को कार्यकारिणी उपाध्यक्ष खुसीमाया गुरुङले बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद तीस हजार, पदक र प्रमाणपत्र, द्वितीय हुनेलाई नगद पन्ध्र हजार, पदक र प्रमाणपत्र र सान्त्वनास्वरुप आठ जनालाई एक÷एक हजार रुपियाँ दिइने म्याराथन संयोजक तुल्सी गुरुङले जानकारी दिनुभयो । 

जेसीसले चैत ९ गते विश्व जल दिवसको अवसरमा साइकल र्‍याली आयोजना गर्ने भएको छ । सुन्दरबजारदेखि बेसीसहर हुँदै भुलभुले पुगेर पुनः बेसीसहर फर्कने गरी साइकल र्‍याली गरिने संयोजक हरिबहादुर घिमिरेले जानकारी दिनुभयो । करिब ४० किलोमिटरको साइकल  र्‍यालीमा पचास जनाभन्दा बढीको सहभागिता हुने आयोजकले जनाएको छ । 

साइकल र्‍यालीले जल संरक्षण, ग्लेश्यिर संरक्षण, स्वच्छ पानीको दिगो उपयोग, वातावरण मैत्री यातायातको प्रवर्धन तथा सार्वजनिक रुपमा चेतना अभिवृद्धि गर्ने उद्देश्य लिएको उपाध्यक्ष रोशन खतिवडाले बताउनुभयो ।