• १५ फागुन २०८१, बिहिबार

नागथली–तरुचेको रमाइलो यात्रा

blog

शैली खतिवडा

कक्षाः १०, कालिका हिमालय मावि

 रसुवा

नयाँ ठाउँ घुम्ने रुचि कसको हुँदैन र ? कालिका हिमालय माविका विभिन्न कक्षाका साथीहरूको अध्ययन भ्रमणमा जाने योजना बन्यो । कुनै समूह नुवाकोटको किस्पाङ, कुनै समूह लुम्बिनी र कोही छिमेकी देश भारतको दार्जिलिङसम्म जाने भए । 

हाम्रो समूहको भने आफ्नै जिल्लाभित्रको पर्यटकीय स्थल नागथली जाने निधो भयो । अध्ययन भ्रमणका लागि शिक्षक र साथीहरू दुई वटा बसमा यात्रा सुरु भयो । बस सरासर स्याफ्रुबेँसी पुगेर रोकियो । त्यहाँ भूमिगत संरचना रहेको चिलिमे जलविद्युत् केन्द्रको पावर हाउसमा कसरी विद्युत् उत्पादन हुन्छ भनेर हेर्ने मौका मिल्यो । बसमा यात्रा अघि बढ्दै गयो । स्याफ्रुबेँसी बजारमा धेरै होटेल र लज रहेछन् । यहाँ लाङटाङ जाने विदेशी तथा स्वदेशी पर्यटक बस्ने रहेछन् । यहाँबाटै पैदलयात्रा सुरु गर्दा रहेछन् । यहाँ गोसाइँकुण्ड गाउँपालिकाको केन्द्र पनि रहेको छ ।  

पर्यटकीय दृष्टिकोणले गोसाइँकुण्ड, लाङटाङलगायतभन्दा नागथली कमै चर्चित ठाउँ हो । यो ठाउँ गोसाइँकुण्ड गाउँपालिका–१ मा पर्दछ । आमाछोदिङमो गाउँपालिकाको तातोपानीबाट जाने सल्लाह भयो । तातोपानीबाट हाम्रो पैदलयात्रा सुरु भयो । यो ठाउँमा हामी धेरै जना पहिलो पटक जान लागेकाले ठाउँ कस्तो होला भनेर मनमा कौतूहल थियो । वरिपरिका डाँडाकाँडा, हिमाल, हरियाली दृश्य हाम्रो आँखामा नाच्दै थियो । त्यहाँका वन्यजन्तु, चरा, वातावरण र रहनसहन नियाल्दै हामी झन्डै साढे दुई घण्टाको उकालो यात्रापछि नागथलीको समथर भूभागमा पाइला राख्यौँ । चिसो सिरेटोले हामीलाई स्वागत गरेको अनुभव हुन थाल्यो । यो ठाउँ समुद्री सतहदेखि तीन हजार एक सय मिटर उचाइमा रहेको छ । हामीलाई दिनले बिदा माग्दै साँझ पर्दै थियो । त्यहाँ रहेको दुई वटा होटेलमा हाम्रो टोलीले विश्राम ग¥यो । 

भोलि बिहान तरुचेडाँडा पुग्ने योजना बनाएर खानपिन गरेर सुतियो । बिहान सूर्योदय नहुँदै हाम्रो टोलीको यात्रा अघि बढ्यो । तीन घण्टा हिँडेर तरुचे पुगियो । चारैतिर सुन्दर तथा मनोरम दृश्य देखिने तरुचेडाँडा साँच्चै रमाइलो रहेछ । नजिकै गणेश हिमाल, पाल्दोपिक, साङ्जेन, लाङटाङ, लिरुङ र तिब्बतको सिसापाङमा हिमाल र गाउँ देखियो । आँखा अगाडि सजिएको हिमाल र डाँडाकाँडाको दृश्य हेरिरहुँ जस्तो लाग्ने । साथीहरू आपसमा कुरा ग¥यौँ, यस्ता स्थानमा रहेछन्, त्यसैले पो विदेशी यहाँ घुम्न आउने रहेछन् । तरुचे तीन हजार सात सय मिटर उचाइमा रहेको छ । धेरै उकालो छ भनेर सबै जना साथी जान सकेनन् । हामी सजिलै पुग्यौँ । हाम्रा ९० जनामध्ये २० जना जति साथीले मात्र तरुचेडाँडाबाट दृश्य नियाल्ने मौका पाए ।  

हाम्रो ध्यान त्यहाँको मनोरम दृश्यले तानिरहेको थियो तर समयले हामीलाई पर्खिएन । फर्किने समय भयो । बास बसेको ठाउँमा एक जनासँग कुराकानी गर्ने योजना पूरा भयो । यहाँका अगुवा पर्यटन व्यवसायी दावासाङ्बो तामाङले यहाँ धेरै धार्मिक तथा पर्यटकीय सम्पदा रहेको र बँदेल, घोरल, भालु, बाँदर, घोरल, थार जस्ता वन्यजन्तु पाइने जानकारी दिनुभयो ।   

हिउँ परेको समय र पाखाभरि थरी थरीका लालीगुँरास फुलेर ढकमक्क भएको समयमा यो ठाउँ निकै रमाइलो हुने रहेछ । ती दृश्य हेर्न नेपाली पर्यटक धेरै नै आउने गरेका रहेछन् । तामाङ तथा तिब्बती संस्कृति, वेशभूषा, काठैकाठका घरले आकर्षण गर्ने रहेछ । यहाँ प्रशस्त जडीबुटी पनि पाइने रहेछ । यहाँ गुरु रिम्पोछेको मूर्ति पनि रहेको छ । नागथलीबाट तल थुमन गाउँ रहेको छ । 

नागथलीलाई साथीहरूले रसुवाको घान्द्रुक भने । मलाई त साँच्चै प्रकृतिको भ्यु टावर हो जस्तो लाग्यो । फर्किंदा थुमन गाउँ भएर फर्किने अपेक्षा पूरा हुन सकेन । पछि कुनै दिन अवसर जुरेमा थुमन गाउँ पुग्ने आशामा हामीले त्यहाँबाट यात्रालाई घरतर्फ मोड्यौँ । नागथली–तरुचे यात्रा मेरो लागि अविस्मरणीय रह्यो । 

    मुना