• १४ फागुन २०८१, बुधबार

रुकुमपश्चिममा ब्याडमिन्टन प्रतियोगिता सुरु

blog

प्रतियोगिताको उद्घाटन गर्नुहुँदै मुसीकोट नगर प्रमुख महेन्द्र केसी । तस्बिर : गोरखापत्र

राजु लामिछाने

रुकुमपश्चिम, फागुन १४ गते । रुकुमपश्चिममा आयोजित विभिन्न पाँच विधाको ब्याडमिन्टन प्रतियोगिता सुरु गरिएको छ । 

जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा भएको तेस्रो संस्करणको ब्याडमिन्टन प्रतियोगिता एक कार्यक्रमका बिच बुधबार मुसीकोट नगरपालिका प्रमुख महेन्द्र केसीले उद्घाटन गर्नुभएको छ । 

जिल्ला अध्यक्ष अनिल बुढाका अनुसार रुकुमपश्चिमलाई खेलका माध्यामबाट चिनाउन र पर्यटन प्रवर्धन गर्न विभिन्न पाँच विधामा ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको हो । उहाँका अनुसार पाँच विधामा १०४ टिमले भाग लिएका छन् । 

आयोजकका अनुसार पुरुष डबल खुला (अल नेपाल) तर्फ २४ टिम, रुकुमपश्चिम पुरुष डबल खुलामा ३५ टिम, रुकुमपश्चिम खुला महिला डबल विधामा आठ टिम र १९ वर्ष मुनिको पुरुष एकलतर्फको प्रतियोगितामा सात जनाले भाग लिएका छन् ।

त्यसै गरी कर्णाली प्रदेश पुरुष डबल ब्याडमिन्टन प्रतियोगितामा ३० टिमले प्रतिश्पर्धा गर्ने बताइएको छ । मुसीकोट नगरपालिका १, स्थित मिनिकवर्डहलमा तीन दिनसम्म सञ्चालन हुने यस प्रतियोगिताको पाँच वटै इभेन्टमा एकैसाथ प्रतिस्पर्धा गराउने तयारी रहेको सङ्घका सचिव विशाल  विष्टले जानकारी दिनुभयो ।

अल नेपाल खुला ब्याडमिन्टनको विजेता जोडीले ५२ हजार नगद, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्दा उपविजेता जोडीले ३१ हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । 

सान्त्वना दुई जोडीलाई समान ११ हजार पुरस्कारको व्यवस्था गरिएको छ । रुकुमपश्चिम जिल्ला स्तरीय खुला पुरुष डबल ब्याडमिन्टनको विजेता जोडीले ३० हजार र उपविजेता जोडीले २० हजार नगद, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । सान्त्वना दुई जोडीले समान पाँच पुरस्कार पाउने छन् । 

त्यस्तै महिलातर्फको विजेता जोडीले १५ हजार, उप विजेताले आठ हजार र सान्त्वना जोडीले समान तीन हजार पुरस्कार पाउने सचिव विशाल विष्टले जानकारी दिनुभयो । कर्णाली प्रदेश खुला पुरुष डबल ब्याडमिन्टनको विजेताले ३२ हजार, उप विजेताले २० हजार र सान्त्वना हुने दुई जोडीले समान ६ हजार पुरस्कार पाउने बताईएको छ । 

रुकुमपश्चिम जिल्ला स्तरीय १९ वर्ष मुनिको पुरुष सिङ्गल ब्याडमिन्टनको विजेताले १५ हजार, उप विजेताले आठ हजार र सान्त्वना हुने दुई खेलाडीले समान तीन हजार पुरस्कार पाउने छन् । यसैगरी सबै इभेन्टका एक एक जना बेष्ट प्लेयरलाई दुई हजार पाँच सय नगद, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।