अविनाश चौधरी
धनगढी, फागुन १४ गते । नेकपा (एमाले) को सचिव एवम् सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले वडा केन्द्रित अभियान प्रभावकारी बनाउन एमाले नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
सुदूरपश्चिम प्रदेश प्रचार तथा प्रकाशन विभागको आयोजनामा आजबाट धनगढीमा सुरु भएको प्रचारसम्बन्धी दुई दिने कार्यशाला कार्यक्रमको उद्घाटन अवसरमा उहाँले यस्तो निर्देशन दिनुभएको हो ।
उहाँले एमाले नेता, कार्यकर्तालाई घर घर पुग्न आग्रह गर्नुभयो । “कहाँ के भइरहेको छ, त्यसको रिपोर्टिङ छैन”, सचिव भट्टले भन्नुभयो, “जनताको बिचमा एकाकार हुनुस अनिमात्र चुनावी परिणाम राम्रो आउँछ ।”
उहाँले औपचारिकताका लागि मात्रै नभई उपलब्धि आउने गरी कार्यक्रम गर्न आग्रह गर्नुभयो । यस्तै, प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले नेपाली बजारमा नेकपा (एमाले) र सिङ्गो नेतृत्वविरुद्ध सोसल मिडियाको प्लेटफर्ममार्फत प्रहार भइरहेको बताउनुभएको छ । उहाँले मिथ्या सूचना, गलत सूचना, तथ्यहीन सूचना प्रयोग गरेर एमाले पार्टी र सिङ्गो नेतृत्वविरुद्ध भइरहेको प्रहारको प्रतिवाद गर्ने सम्बन्धमा कार्यशालामा गहन छलफल हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “काठमाडौँका प्रमुख बालेन एक्लैले फुर्र्र गरेर सामाजिक सञ्जालमार्फत एमाले र एमालेका नेतृत्वविरुद्ध प्रयोग भएकै छ । रवि लामिछानेका समर्थक र माओवादीबाट पनि त्यस्तै छ ।”
एमाले पार्टी र नेतृत्वविरुद्ध निरन्तर प्रहार भइरहँदा पनि नेतृत्वले यसबारे नबोल्नु आश्चर्यको विषय रहेको गौतमको भनाइ थियो । उहाँले यस विषयमा पार्टी पंक्ति एकदम मौन रहेको र कहिँ पनि नबोलिरहेको उल्लेख गर्नुभयो ।
कार्यशालामा नौ वटै जिल्लाका एमाले नेता, कार्यकर्ता लगायतको प्रतिनिधिमूलक सहभागिता रहेको छ ।