• १४ फागुन २०८१, बुधबार

सबैभन्दा लामो झोलुङ्गे पुल

blog

भाइबहिनीहरू, विसं २०८१ साउन अङ्कको मुना मासिकमा नेपालको सबैभन्दा लामो झोलुङ्गे पुलका बारे लेख छापिएको सम्झिनुभएको छ ? त्यो लेखमा धनुषा र सिराहालाई जोड्ने कमला नदीको झोलुङ्गे पुल सबैभन्दा लामो झोलुङ्गे पुल भनी लेखिएको थियो है ? तर अब त्योभन्दा पनि लामो झोलुङ्गे पुल बनेको छ । 

नारायणी नदीमा सबैभन्दा लामो झोलुङ्गे पुल बनेको छ । यो पुलले नयाँ कीर्तिमान कायम गरेको छ । यो पुलले पश्चिम नवलपरासीको पक्लिहवा र सुस्तालाई जोड्छ । २०८१ असोज १० गते यो नयाँ पुलको उद्घाटन भएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले यसको उद्घाटन गर्नुभएको हो ।

नारायणी नदीमा बनेको नयाँ झोलुङ्गे पुलको लम्बाइ एक हजार ५७१ मिटर छ । कमला नदीमा बनेको झोलुङ्गे पुल एक हजार ५००.४ मिटर लामो छ । कमला नदीको भन्दा नारायणी नदीको झोलुङ्गे पुलको लम्बाइ करिब ७१ मिटर बढी छ । कमला नदीको पुल बन्नुभन्दाअघि कञ्चनपुरको चाँदनी दोधारा जोड्ने महाकाली नदीमा बनेको झोलुङ्गे पुल सबैभन्दा लामो थियो । त्यो पुलको लम्बाइ एक हजार ४५२.५ मिटर रहेको छ । पक्लिहवाबाट सुस्ता गाउँपालिका–५, सुस्तालाई जोड्ने नयाँ झोलुङ्गे पुलको चौडाइ १.६ मिटरको छ । सुस्तामा बनेको पुल फराकिलो भएकोले मानिसलाई हिँड्न सजिलो भएको छ । साइकल, मोटरसाइकल र स्कुटर पनि यो पुलबाट सजिलै ओहोरदोहोर गर्ने गरेका छन् । 

सुस्ता जोड्ने झोलुङ्गे पुलमा १४ वटा पिल्लर रहेका छन् । पुल २३ करोड ६५ लाख ९८ हजार आठ सय रुपियाँमा बनाइएको हो । पुल नहुँदा सुस्तावासीले निकै दुःख भोग्नु परेको थियो । डुङ्गाबाट जोखिमपूर्ण यात्रा गर्नु पथ्र्याे । पानी परेका बेला नदी बढ्थ्यो र डुङ्गा चलाउन जोखिम हुन्थ्यो । वर्षामा नारायणी नदीमा डुङ्गा नचल्ने हुँदा नेपाली भूमिमा आउन भारतको बाटो प्रयोग गर्नु पथ्र्याे । सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खानले भन्नुभयो, “पुल बनेपछि सजिलै नदी वारपार गर्न सकिएको छ ।”  

पुल नहुँदा सुस्तामा बिजुलीको लाइन थिएन । त्यसैले त्यहाँका बासिन्दा बिजुलीबत्ती बाल्न पाउँदैन थिए । झोलुङ्गे पुल बनेपछि बिजुलीको लाइन पनि लगिएको छ । सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले एक करोड ३३ लाख रुपियाँ खर्च गरी बिजुलीबत्ती पुर्‍याइएको जानकारी दिनुभयो । 

सुस्ता–५ का वडाध्यक्ष प्रभुनाथ अहिरका अनुसार नारायणीपारिको सुस्ता गाउँपालिका–५ मा झन्डै ३५० घर छन् । तिनमा तीन हजार दुई सयभन्दा बढी नेपाली बसोबास गर्छन् ।  पुल बनेपछि धेरै टाढा टाढाबाट मानिस पुल हेर्नका लागि आउने गरेका छन् ।   

   मुना    

Author
बोमलाल गिरी

गिरी गोरखापत्रका लागि नवलपुर समाचारदाता हुनुहुन्छ ।