• १४ फागुन २०८१, बुधबार

पञ्चदेवललाई व्यवस्थित गराइँदै

blog

पञ्चदेवका चक्रलाई पञ्चदेवलमाथि राखिँदै । तस्बिर : कमल शर्मा

दैलेख समाचारदाता

दैलेख, फागुन १४ गते । विश्वसम्पदा सूचीको सम्भाव्य सूचीमा राखिएका दैलेखको नारायण नगरपालिका–६ को ऐतिहासिक पञ्चदेवललाई व्यवस्थित बनाउन थालिएको छ । जिल्ला प्रशासन कार्यालय दैलेख र नारायण नगरपालिकाकाको पहलमा पुरातत्व विभागमा बजेट माग गरी व्यवस्थित गर्न लागिएको हो । 

दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जिल्लामा रहेका ऐतिहासिक पुरातात्त्विक सम्पदाको संरक्षण अभियान अन्तर्गत नारायण नगरपालिका–६ मा रहेका पञ्चदेवलबाट सुरु गरिएको बताउनुभयो । उहाँले पञ्चदेवल क्षेत्रको घेरबार, ठाउँलाई ठम्याउने र छरिएर रहेका देवलका चक्रलाई देवलमा राख्ने काम गर्न सुरु गरिएको जनाउनुभयो । उहाँले भन्नुभयो, “पञ्चदेवलका माथि राखिएका चक्रहरू विभिन्न समयमा खसेका र त्यसलाई कुनै निकायले नराखेको खबर आफूलाई आएपछि नेपाली सेना, नेपाल प्रहरीको सहयोगमा उक्त चक्र देवलमाथि राखिएको छ ।” पञ्चदेवल क्षेत्रमा एकै ठाउँमा २५ वटा देवल रहेका छन् । देवलको टुप्पोमा रहेका केही डुङ्गाका ठुला चक्र आसपास बारीका कुनामा रहेका थिए । पहिलो पटक त्यस्ता चक्र पुरानै स्थानमा डोजरको सहायताले राख्ने काम भएको प्रजिअ जैसीले बताउनुभयो । 

नारायण नगरपालिका–६ मा रहेको पञ्चदेवल क्षेत्रमा स्थानीय सरकार, प्रदेशदेखि केन्द्र सरकारले पर्याप्त बजेट विनियोजन हुन नसक्दा त्यसको संरक्षण गर्न समस्या भएको नारायण नगरपालिकाले जानकारी दिएको छ । नारायण नगरपालिकाका प्रवक्ता एवं वडा नं. ६ का वडाध्यक्ष जनकप्रसाद न्यौपानेले स्थानीय सरकारले बजेट विनियोजन गरी संरक्षण गर्न खोजिए पनि पुरातत्व विभागसँग समन्वय गरी काम गर्नुपर्ने समस्याले नगरपालिकाले बजेट विनियोजन नगरेको बताउनुभयो । उहाँले कोत गडी निर्माणमा अघिल्लो पटक  बजेट विनियोजन गरी काम गरेको भए पनि पुरातìव विभागसँग समन्वय नगरेको भन्दै काम रोकेको जनाउनुभयो । 

नारायण नगरपालिका–६ मा २२ वटा देवल रहेका छन् । यी देवल १४ औँ शताब्दीतिर खस मल्ल राज्यकालमा निर्माण भएको किंवदन्तीमा उल्लेख गरिएको छ । स्थानीय भनाइ अनुसार केही वर्ष पहिलेसम्म पनि यस ठाउँमा २५ वटा देवल रहेकोमा हाल २२ वटा देवल रहेका छन् । २२ वटा देवललाई सन् २००८ मा विश्वसम्पदा सूचीको सम्भाव्य सूचीमा संलग्न राखिएको थियो ।