साहारा लिम्बू
फुङलिङ, फागुन १३ गते । ताप्लेजुङमा निर्माणाधीन केबुलकारको विवादलाई समाधान गर्नका आन्दोलनरत पक्षले चार सर्त अघि सारेका छन् । गृह मन्त्रालयले आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेपछि आन्दोलनरत पक्षले चार सर्त अघि सारेको हो ।
मङ्गलबार एक विज्ञप्ति जारी गर्दै मुक्कुमलुङमा दिगो, शान्ति, सार्थक र परिणाममुखी वार्ताका लागि सङ्घर्षरत पक्षबाट वार्ताको वातावरण तयर गर्ने चार उत्त सर्त अघि सारेको जानकारी गराएको छ । सर्तहरूमा मन्त्रीस्तरीय वार्ता समिति निर्माण गरी आन्दोलनरत पक्षलाई आधिकारिक पत्राचार गर्नु पर्ने, आन्दोलनका क्रममा ताप्लेजुङ, सुनसरी लगायत स्थानबाट पक्राउ गरिएकाहरूलाई निसर्त रिहाइ गरी ताप्लेजुङको निषेधाज्ञा हटाउनु पर्ने अघि सारिएको छ ।
यस्तै, केबुलकार निर्माण कार्य बन्द गरी निर्माण स्थलबाट सामग्री, ठेकेदार, कामदार र मजदुर फिर्ता गर्नु पर्ने, पाथीभरा मुक्कुमलुङ क्षेत्रबाट सशस्त्र प्रहरी फिर्ता हुनुपर्ने सर्त अघि सारेका छन् । गृह मन्त्रालयले यस अघि फागुन ९ गते सोमबार आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेको थियो ।
केबुलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवादलाई वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधानका लागि गत माघ २२ गृह मन्त्रालयद्वारा वार्ता टोली गठन गरिएको थियो । ‘नो केबुलकार’ समूहले फागुन ६ गतेदेखि ८ गतेसम्म मुक्कुमलुङ पदयात्रा कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रमको अन्तिम दिन ८ गते केबुलकारको निर्माण स्थल काफ्लेपाटीमा ‘नो केबुलकार’ समूह र प्रहरीबिच झडप भएको थियो ।
उक्त झडपको क्रममा प्रहरी, सवारी चालक र आन्दोलनरत पक्षसहित १३ जना घाइते भएका थिए भने, झडपलाई नियन्त्रणमा लिन प्रहरीले सात राउन्ड अश्रु ग्यास समेत प्रहार गरेका थिए । काफ्लेपाटीमा चार दिनसम्म विरोध प्रदर्शन गरी आन्दोलनरत समुह शनिबार साँझदेखि सदरमुकाम केन्द्रित भएका थिए ।
शनिबार साँझ पनि नो केबुलका समूह र प्रहरीबिच झडप हुँदा २३ घाइते भएका छन् । झडपको क्रममा ११ जना प्रहरीसहित २३ जना घाइते भएका हुन् । ११ जना प्रहरी र १२ जना प्रदर्शनकारी घाइते भएका छन् । घाइते मध्ये एक जना प्रहरी र तीन जना आन्दोलनरत पक्षका कार्यकर्तालाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ ।
यस्तै, आन्दोलनको क्रममा आपराधिक उपद्रव र हुलदङ्गा गरेको भन्दै १७ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।