• १३ फागुन २०८१, मङ्गलबार

ईशानेश्वर महादेव मन्दिरको महिमा : महाशिवरात्रिमा भव्य मेला

blog

लमजुङको ईशानेश्वर महादेव मन्दिर र मेलाको तयारी । तस्बिर सौजन्य सुरज गुरुङ

नवीनराज कुइँकेल
लमजुङ, फागुन १३ गते ।
लमजुङको मध्यनेपाल नगरपालिका–७ करापुटारमा रहेको ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्रि मेलाको भव्य तयारी गरिएको छ ।

तीन दिनसम्म सञ्चालन हुने मेलाको तयारी पूरा भएको आयोजक ईशानेश्वर महादेव क्षेत्र विकास समितिले जानकारी दिएको छ । शिवरात्रिको अवसरमा ईशानेश्वर महादेव मन्दिर परिसरमा फागुन १४, १५ र १६ गते शिव महापुराण वाचन, लोकभजन खुला प्रतियोगिता, करापुटारे ठाडोभाका, वडास्तरिय खुला भलिबल प्रतियोगिता, ठेलो प्रतियोगिता, कृषि मेला, रक्तदान कार्यक्रम राखिएको छ ।

सो मन्दिरमा हजारौंको सङ्ख्यामा सन्तान प्राप्तिका लागि रातभर उभिएर ठाडो बत्ती बाल्ने, सन्तान वा पुत्र जन्म भएपछि मन्दिरमा आएर देखाउने, पूजाआजा गर्नेको भिड लाग्ने गर्दछ । पूजाआजा गर्नका लागि, ठाडोबत्ती बाल्नका लागि स्थान निर्माण गरिएको छ ।

ईशानेश्वर महादेव मन्दिर काठमाडौँको पशुपतिनाथ पछिको महत्त्वपूर्ण धार्मिक स्थल रहेको विश्वास गरिन्छ । शिवरात्रिमा हरेक साल हजारौं श्रद्धालु भक्तजनहरूको भिड लाग्ने गर्दछ ।       

रोचक किंवदन्ती
ईशानेश्वर महादेवको उत्पत्ति एवम् उत्खननका सन्दर्भमा हिन्दु धर्मग्रन्थका विभिन्न पुराणहरूमा यसको महिमा उल्लेख छ । हिन्दु धर्मशास्त्रको स्वस्थानी व्रतकथामा उल्लेख गरिए अनुसार महादेवले सतीदेवीको मृत शरीर बोकी पृथ्वी भ्रमण गर्ने सिलसिलामा महेन्द्रगिरिमा पुग्दा सतीदेवीको दाहिने तिघ्रा पतन भएको थियो ।

सोही महेन्द्रगिरि ईशानेश्वरको चिसंकुलाई भनिएको संस्कृतिविद्हरूको भनाइ छ । त्यसपछि ईशानेश्वरमा इन्द्राक्षीदेवी, अद्र्धगामिनी, योगिनी, तारकेश्वर महादेव उत्पन्न भएर शिवशक्तिको स्वरूपमा रहेको धार्मिक विश्वास छ ।

सोही रत्नभूमिमा लक्ष्मी आई नाना द्रव्य चढाइ सेवा गर्नुभयो । लक्ष्मीले कात्तिक कृष्ण अमावश्याको दिन सम्पूर्ण लोकले पूजा गरी सम्मान गरुन् भनी आशिष मागेको र ईश्वरी प्रसन्न भई तथास्तु भनेर बरदान दिएको धार्मिक किंवदन्तीमा पाइएको ईशानेश्वर क्षेत्र विकास समितिका अध्यक्ष गणराज घिमिरेले बताउनुभयो । सोही समयदेखि ईशानेश्वर महादेवलाई तारकेश्वर महादेवको रूपमा समेत पूजाआजा गरिँदै आएको छ ।

योगी नरहरिनाथको भनाइमा पृथ्वीमण्डलमा महादेवका पाँच मुखमध्ये ईशानकोणमा अवस्थित भएकाले तारकेश्वरलाई ईशानेश्वर महादेव नामकरण गरिएको हो ।

स्थानीयवासीका अनुसार छ सय वर्षपहिले स्थानीय बासिन्दा शिवदास पोखरेलले चिसो ठाउँ पहिल्याइ धानको बिउ राख्न हल गोरु लिएर जोत्न जाँदा हलोको फालीको टुप्पाले शिवलिङ्ग स्वरूपको शीला जोतिएर रगत बगेको र गोरुसहित उनी जलेर मरेको भनाइ छ ।

सोही समयदेखि गोरुको सिङ मन्दिरमा सुरक्षित राखिएको ईशानेश्वर क्षेत्र विकास समितिका पूर्व अध्यक्ष रामचन्द्र घिमिरे शास्त्रीले बताउनुभयो ।

यस धार्मिक तथा ऐतिहासिक महत्त्वलाई पहिचान गरी तत्कालीन गोरखाका निसन्तान राजा कृष्ण शाहले शाकेसंवत १४१४ मा आफ्ना सीपयुक्त पल्टन प्रयोग गरी हाल रहेको मन्दिर निर्माण गरेको बताइन्छ । पछि उहाँलाई पुत्रलाभ भएको र छोराको नाम शिवरूप सम्झेर रुद्र शाह राखेको किंवदन्ती छ । पछि पूजारी वंशका कपिलमणि सोतीले प्रचार गरी ईशानेश्वर महादेवलाई सन्तानेश्वर महादेवको रूपमा स्थापित गराएको मध्यनेपाल नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डेले बताउनुभयो ।

ईशानेश्वर क्षेत्रमा रहेका प्राचीन शिलालेख एवम् अभिलेख अनुसार शाके संवत १६९४ मा नरहरि शाहका सन्तान वीरनारायण शाह र उहाँका दुई श्रीमतीहरू शालधरा जेठी र शकलानकुमारी कान्छीले नौ सय ३५ रोपनी जग्गा मन्दिरमा दान गरेको उल्लेख छ ।

उक्त जग्गाबाट उब्जनी हुने अन्नबाली महाशिवरात्रिका दिन फकिर, फुकुरा एवम् जोगीहरूलाई सदावर्त व्यवस्था गरेबमोजिम हालसम्म सञ्चालन भइरहेको पूजारी व्यवस्थापन समितिका सचिव रामचन्द्र सोतीले बताउनुभयो । त्यस्तै १५ रोपनी पुजारी गुठीमा राखेर नियमित पूजा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । हाल दैनिक पूजा सञ्चालन गर्न सोतीहरू संलग्न एक पुजारी व्यवस्थापन समिति बनाइएको छ ।

पुजारीहरूले गुठी उपभोग गरी पूजा कर्म सञ्चालन खर्च जुटाउँछन् भने महादेवलाई सामूहिक आस्थाको केन्द्र मानेर हरेक वर्ष वैशाख १ र कात्तिक १ गते गाउँलेले बाजागाजासहित सामूहिक रुद्री पूजा गर्ने परम्परा छ ।

ठाडो भाकाको सुरूवात
गण्डकी प्रदेशमा प्रख्यात ठाडो भाकाको उत्पत्ति शिवरात्रि मेलामा भएको स्थानीय संस्कृतिकर्मीहरू बताउँछन् । शिवरात्रिमा बत्ती बाल्न लमजुङ नेटाका देउबहादुर दुराले विक्रम संवत १९५१ मा पहिलो पटक करापुटारमा ठाडो भाका गाउनुभएको थियो ।

सोही समयदेखि नै तत्कालिन पश्चिमाञ्चलमा ठाडो भाका गाउन थालिएको र लोक दोहोरी गीतको मुहान पनि ठाडो भाका नै रहेको गायक धम्पु दुरा बताउनुहुन्छ । देउबहादुर दुरापछि भेडिखर्के साइँलाले ठाडोभाकाको प्रचारप्रसारमा ठुलो योगदान दिनुभएको थियो ।

ईशानेश्वर क्षेत्रलाई धार्मिक पर्यटनका केन्द्र बनाउन ईशानेश्वर क्षेत्र विकास समिति लागि परेको छ । ईशानेश्वर क्षेत्रमा एक सय आठ धारा निर्माण गौरीकुण्ड निर्माण गरिएको छ । अन्य संरचनाहरू पनि निर्माण भइरहेका छन् ।

सार्वजनिक बिदा
मध्यनेपाल नगरपालिकाले फागुन १५ गते सार्वजनिक बिदा दिएको छ । महाशिवरात्रि पर्वको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिएको हो । शिवरात्री पर्वमा तीन दिनसम्म मेला लाग्ने भएकाले १५ गतेका लागि सार्वजनिक बिदा दिनुपरेको पालिकाले जनाएको छ । नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डेले एक सूचना प्रकाशित गर्दै १५ गतेका दिन नगर कार्यपालिका, वडा कार्यालयहरू, सामुदायिक एवं संस्थागत विद्यालयहरू, स्वास्थ्य संस्था तथा अन्य सङ्घसंस्थाहरूमा स्थानीय बिदा दिने निर्णय गरिएको जानकारी दिनुभयो ।