• ४ जेठ २०८१, शुक्रबार

सामूहिक बलात्कार आरोपमा चार जना पक्राउ

blog

इलाका प्रहरी कार्यालय ढल्केवर। तस्बिर - विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, जेठ १६ गते । गत १ चैतमा एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार जनालाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ । 

इलाका प्रहरी कार्यालय ढल्केबर धनुषाले आइतबार ती चार जनालाई नियन्त्रणमा लिएको हो । घटना संलग्न भनिएका अझै एकजना फरार रहेको तथा अनुसन्धान प्रक्रिया प्रभावित हुने भएकाले नियन्त्रणमा लिएकाहरुको नाम तत्काल सार्वजनिक गर्न नमिल्ने इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले बताउनुभयो । उहाँले पीडित पक्षले दिएको किटानी जाहेरीको आधारमा चारजनालाई नियन्त्रणमा लिएका जानकारी दिनुभयो । 

गत चैत १ गते उनीहरुले ती किशोरीलाई घरबाट मिथिला नगरपालिका–५ स्थित एक होटल ल्याएर जबर्जस्ती करणी गरेका थिए । पीडित पक्षले जेठ ३ गते इलाका प्रहरी कार्यालय ढल्केबरमा किटानी जाहेरी दिएका थिए ।

प्रहरी निरीक्षक सिंहका अनुसार जिल्ला अदालत धनुषाले आरोपितहरु विरुद्ध पक्राउ पुर्जी नै जारी गरेको छ । आरोपितमध्ये चारजना पक्राउ गरिएको र घटनामा संलग्न भनिएका अन्य एकजनालाई पक्राउ गर्न खोजतलास भइरहेको छ । 

पक्राउ परेकाहरुलाई धनुषा जिल्ला अदालतबाट म्याद थपको अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिनुभयो ।