• १३ फागुन २०८१, मङ्गलबार

‘फोर नेसन्स कप’ : नेपाललाई घरमै उपाधि राख्ने अवसर

blog

फाइनलअघि ट्रफीसँग दुवै टोलीका कप्तान र प्रशिक्षक ।

काठमाडौँ, फागुन १३ गते । ‘फोर नेसन्स कप’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा नेपालले बुधबार साँझ म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ ।

दशरथ रङ्गशालामा ६:१५ बजे सुरु हुने फाइनल खेलका लागि दुवै टोली तयार रहेको मङ्गलबार आयोजित प्रि–म्याच कन्फ्रेरेन्समा प्रशिक्षक र कप्तानले बताएका छन् । 

नेपाल, म्यानमार, कीर्गिस्तान र लेबनान गरी चार टोली सम्मिलित प्रतियोगितामा नेपाल र म्यानमारले अपराजित रहँदै फाइनलमा स्थान बनाएका हुन् । लिग चरणको अन्तिम खेल अगावै फाइनलमा स्थान बनाएका नेपाल र म्यानमारले लिग चरणको अन्तिम खेलमा २–२ गोलको बराबरी खेलेका थिए । 

फाइनलअघि नेपालका प्रशिक्षक राजेन्द्र तामाङले लिग चरणमा तीन खेलमा खेलाडीले राम्रो प्रदर्शन गरेकोले फाइनल जित्ने लक्ष्य राखेको बताउनुभयो । ‘‘हामी फाइनलका लागि अन्तिम तयारी गरिरहेका छौँ । यसअघिका कमजोरीलाई सुधारेर उपाधि जित्न खेल्नेछौँ । नेपाली खेलाडीको त्यो क्षमता पनि छ,’’ तामाङले भन्नुभयो । 

नेपालकी कप्तान एन्जिला तुम्बापो सुब्बाले पनि घरेलु मैदानमा उपाधि जित्ने अर्को अवसर आएकाले फाइनलमा राम्रो फाइट गर्ने बताउनुभयो । ‘‘अहिलेसम्म सबै खेलाडीले राम्रो खेलिरहेका छौँ । दुवै टोली बलिया छौँ । मैदानमा जस्ले राम्रो खेल्छ, उपाधि उसैले जित्ने हो । तर, हामी उत्कृष्ट खेल्दै उपाधि जित्नेछौँ,’’ सुब्बाले भन्नुभयो । 

१३औँ पटक अन्तर्राष्ट्रिय महिला फुटबलको फाइनलमा पुगेको नेपालले अहिलेसम्म कुनै पनि उपाधि जित्न सकेको छैन । नेपालले यही र्ष वाफ महिला च्याम्पियनसिप र महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेर हार खेपेको थियो । 

नेपालले म्यानमारलाई यसअघिका भिडन्तमा पनि हराउन सकेको छैन । नेपाल र म्यानमारबिच यसअघि चा पटक भिडन्त भएको छ । जसमा म्यानमारले दुई जित निकालेको छ भने दुई खेल बराबरीमा सकिएको छ ।

यस्तै म्यानमारका जापानी प्रशिक्षक तेत्सुको युकीले फाइनलका लागि आफ्नो टोली सम्पूर्ण रूपमा तयार रहेको बताउनुभयो । ‘‘अघिल्ला खेलमा हामीले राम्रो खेल खेल्दै आएका छौँ । ठुलो सङ्ख्यामा उपस्थित नेपाली समर्थकको बिचका खेल्दा नयाँ अनुभव भएको छ । यसले टोलीलाई झनै उत्साह थपेको छ । नेपाल आफैँमा बलियो टोली हो । फाइनल खेल थप उत्कृष्ट हुने अपेक्षा गरेका छौँ,’’ युकीले भन्नुभयो ।

म्यानमारकी कप्तान वेन थेइङ्गी तुनले फाइनल खेल्न सबै खेलाडी उत्सुक रहेको बताउनुभयो । ‘‘अगाडिका खेलमा राम्रो प्रदर्शन भएको छ । म्यानकारका लागि यस प्रतियोगिता नयाँ अनुभव बटुल्ने र प्रदर्शनमा सुधार गर्ने अवसर हो । टोलीका सबै खेलाडीले राम्रो फुटबल खेल्दै उपाधि जित्ने आशा राखेका छौँ,’’ तुनले भन्नुभयो । 

दुवै टोलीले लिग चरणमा दुई दुई जित र एक बराबरी नजितासात सात सात अङ्क बटुल्दै फाइनलमा पुगेका हुन् । नेपालले लिग चरणमा कीर्गिस्तान र लेबनानलाई समान १–० गोलले हराएको थियो । यस्तै म्यानमारले लेबनानलाई ३–१ र कीर्गिस्तानलाई ५–० गोलले हराएको थियो ।