घोराही समाचारदाता
घोराही, फागुन १२ गते । दाङमा तोरी उत्पादनमा वृद्धि भएको छ । जिल्लामा तोरी खेती गर्ने किसानसँगै क्षेत्रफल बढ्दा उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ ।
केन्द्रका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १६ हजार ६१५ हेक्टरमा तोरी खेती भएकोमा ३१ हजार ५६८.५ मेट्रिक टन तोरी उत्पादन भएको छ । तोरी खेतीका लागि जिल्लामा गत वर्षभन्दा यस वर्ष करिब दोब्बरले तोरी उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र दाङका वरिष्ठ बाली संरक्षण अधिकृत बस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार गत वर्षभन्दा यस वर्ष २०५ हेक्टरभन्दा बढी क्षेत्रफलमा तोरी खेती गरिँदा करिब १३ हजार २५.२ मेट्रिक टन तोरी उत्पादन वृद्धि भएको छ । आव २०८०/८१ मा १६ हजार ४१० हेक्टर क्षेत्रफलमा तोरी खेती हुँदा १८ हजार ५४३.३ मेट्रिक टन तोरी उत्पादन भएको थियो ।
तोरीको उन्नत जातको बिउ प्रयोग, सिँचाइको व्यवस्थासँगै सल्फरको प्रयोग गरिएका कारण उत्पादन वृद्धि भएको बाली संरक्षण अधिकृत बस्नेतले बताउनुभयो । तोरी बालीका लागि सल्फरको प्रयोग उपयुक्त मानिन्छ ।
जिल्लामा घोराही क्षेत्रसँगै देउखुरी र पश्चिम दाङको शान्तिनगर, दङ्गीशरण गाउँपालिका, बबई गाउँपालिकाका विभिन्न क्षेत्रमा तोरीको व्यावसायिक खेती हुने गर्छ । दैनिक भान्सामा प्रयोग हुने तोरीको उत्पादनसँगै बिक्री गर्दा मूल्य राम्रो आउने भएपछि पछिल्लो समय तोरी खेती गर्ने किसान बढ्दै गएका छन् ।
तोरी खेतीमा किसानलाई प्राविधिकसँगै उन्नत जातको तोरीको बिउ सहयोग हुन थालेपछि जिल्लामा तोरी खेतीसँगै उत्पादनमा वृद्धि भएको बताउँदै अधिकृत बस्नेतले भन्नुभयो, “छोटो समयमा राम्रो अम्दानीसँगै बिक्रीमा समस्या नहुने धेरै किसानले तोरी खेती गर्न थालेका छन् ।” तेलका लागि तोरीको जिल्लाबाहिर समेत माग भएको र पछिल्लो समय सुपरजोन कार्यक्रम अन्तर्गत सरकारले लगानी गर्दै आएको छ । कृषि ज्ञान केन्द्र दाङले बालीवस्तु विशेष सघन व्यावसायिक उत्पादन क्षेत्र विकास कार्यक्रम अन्तर्गत यस वर्ष जिल्लामा ९० हेक्टर क्षेत्रफलका लागि पाँच क्विन्टल उन्नत जातको तोरीको बिउ किसानलाई वितरण गरिएको वरिष्ठ बाली संरक्षण अधिकृत बस्नेतले बताउनुभयो ।
उक्त कार्यक्रम अन्तर्गत घोराही उपमहानगरपालिका–७, घुस्रा र शान्तिनगर गाउँपालिका–१ र २ का किसानलाई तोरीको बिउ निःशुल्क रूपमा वितरण गरिएको थियो । तोरीको बिउसँगै किसानलाई तालिम र आवश्यक पर्ने सामग्री पनि प्रदान गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार जिल्लामा प्रतिक्विन्टल १४ हजार रुपियाँका दरले तोरी बिक्री हुने छ ।