गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन ११ गते । दक्ष भएर वैदेशिक रोजगारीमा जान चाहने र विदेशबाट फर्किएर देशमै केही गर्ने योजना भएकालाई वैदेशिक रोजगार बोर्डले विभिन्न १८ वटा विधामा निःशुल्क एकमहिने तालिम दिने तयारी गरेको छ । बोर्डको सचिवालयले वैदेशिक रोजगारीमा जान चाहने एक हजार महिलासहित १६ हजार र वैदेशिक रोजगारीबाट फर्किएका पाँच हजार गरी २१ हजारलाई निःशुल्क तालिम दिने तयारी गरेको हो । यसका लागि बोर्डले तालिमप्रदायक संस्था छनोटको काम अन्तिम चरणमा पुगेको छ ।
बोर्डका अनुसार वैदेशिक रोजगारीमा जान चाहेका एक हजार महिलालाई आवासीय व्यवस्थासहितको निःशुल्क तालिम दिइने छ । त्यस्तै वैदेशिक रोजगारीमा जाने १५ हजारलाई निःशुल्क तालिम दिने तयारी छ । वैदेशिक रोजगारीका क्रममा विदेशबाट फर्केर स्वदेशमा सिप सिकेर केही गर्न चाहेका पाँच हजारलाई निःशुल्क तालिमको तयारी भएको बोर्डका प्रवक्ता टीकाराम ढकालले जानकारी दिनुभयो ।
विगत वर्षदेखि नै देशका सातै प्रदेशमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का आङ्गिक शिक्षण संस्थामार्फत छोटो अवधि (एकमहिने) को तालिम सञ्चालन गर्दै आएको बोर्डले यस पटक विदेश जाने र विदेशबाट फर्केका गरी २१ हजारलाई तालिम दिने तयारी गरेको जनाएको छ । वैदेशिक रोजगारीबाट फर्केकालाई तालिम दिँदा विशेष गरी विदेशमा रोजगारीका क्रममा समस्यामा परेकालाई प्राथमिकतामा राखिने बोर्डका प्रवक्ता ढकालले बताउनुभयो । सिटिइभिटीका आङ्गिक शिक्षण संस्थामार्फत पूर्वाधार भए स्थानीय तहमै, नभए सिटिइभिटीको पूर्वाधार जहाँ छ, त्यहाँ तालिम सुरु गरिसकेको उहाँले जानकारी दिनुभयो । साथै तालिममा महिला, जनजाति, आर्थिक हिसाबले विपन्नलाई विशेष प्राथमिकता दिँदै आएको उहाँले जानकारी दिनुभयो । “तालिमलाई व्यवस्थित बनाउन पालिकामा रहेका रोजगार संयोजकले सिफारिस गरेका व्यक्तिलाई छनोट गरिने छ,” उहाँले भन्नुभयो ।
बोर्डले दिने निःशुल्क तालिममा हाउसकिपिङ, स्टिल फिक्सर, वेटर, सेक्युरिटी गार्ड, मेसन, कुक, प्लम्बर, हाउस पेन्टिङ, स्काफ फोल्डर, गार्मेन्ट, टेलरिङ, सटरिङ कार्पेन्ट्री, असिस्टेन्ट इलेक्ट्रिसियन, असिस्टेन्ट वेल्डर, जुनियर ब्युटिसियन र जुनियर फर्निचर मेकर छन् ।
बोर्डका अनुसार सुरुमा यस्तो तालिम दिनको तीन घण्टा प्रदान हुँदै आएको थियो । ३९० घण्टाको पूरा कोर्स डिजाइन भएकाले चार महिनाभन्दा बढी लाग्थ्यो । यसमा व्यावहारिक कठिनाइ भएकाले हाल १६० घण्टाको एक महिनाको कोर्स डिजाइन गरिएको छ । बोर्डको समन्वयमा उपलब्ध गराइने सिप देशविदेशमा माग हुने कामकै आधारमा छनोट गरिने बोर्डले जनाएको छ । यस प्रकारका तालिम बोर्डले आउँदो चैतदेखि सञ्चालन गर्ने र असारभित्र सक्ने गरी तयारी गरेको छ । यस पटक यी तालिमका लागि बोर्डले करिब ४५ करोड रुपियाँ रकम छुट्याएको छ ।