• ११ फागुन २०८१, आइतबार

धार्मिकस्थल चिताइनमा धर्मशाला भवन

blog

चिताइन मन्दिर परिसरमा धर्मशाला भवनको उद्घाटन गरिँदै । तस्बिरः जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, फागुन १० गते । प्राचिन धार्मिक एवं पर्यटकीयस्थलको रूपमा रहेको लक्ष्मीनाथ महादेव मन्दिर चिताइन परिसरमा धर्मशाला निर्माण गरिएको छ । सर्लाहीको हरिपुर नगरपालिका–७, चिताइनस्थित मन्दिर परिसरमा दुुई तले पक्की धर्मशाला भवन निर्माण गरिएको हो । 

भवनको शनिबार दिउँसो सर्लाही क्षेत्र नं. १ (ख) का मधेश प्रदेशसभा सदस्य बेची लुुङ्गेली र संविधान सभा सदस्य रामचन्द्र चौधरीले संयुक्तरूपमा उदघाटन गर्नुुभयो । प्रदेशसभा सदस्य लुुङ्गेलीको संसदीय विकास कोष, प्रदेश सरकारको पर्यटन मन्त्रालय र वडाको समेत गरी करिब ४० लाख रुपियाँ खर्चिएर धर्मशाला भवन तयार पारिएको लक्ष्मीनाथ चिताइन महादेव विकास समितिका अध्यक्ष राजेन्द्र धामीले जानकारी दिनुुभयो । 

प्रदेशसभा सदस्य लुुङ्गेलीको विशेष पहलमा निर्माण गरिएको दुुई तले धर्मशाला भवनमा चार वटा कोठा र एउटा बैठक हल रहेको छ । नवनिर्मित धर्मशाला भवनलाई आगामी दिनमा पाहुना तथा साधुसन्त आउँदा बास बस्न र गाउँघरमा हुने विभिन्न धार्मिक तथा सामाजिक कार्यमा प्रयोग गरिने लक्ष्मीनाथ चिताइन महादेव विकास समितिले जनाएको छ । जिल्लाकै ऐतिहासिक स्थलको रूपमा रहेको लक्ष्मीनाथ महादेव मन्दिर चिताइनमा भर्खरै जीर्णोद्वारको काम गरिएको छ । 

चिताइन मन्दिरमा शिवरात्रिको दिन चर्मरोग निको हुने र मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ भान्टाको भार र धानको मट्का (मौर) चढाउनेको अत्यधिक भीड लाग्ने गरेको छ । यो वर्ष पनि फागुन १४ गतेदेखि चिताइनमा ऐतिहासिक चिताइन मेला लगाउने तयारी भइरहेको स्थानीय चेतनारायण धामीले जानकारी दिनुुभयो ।