• ११ फागुन २०८१, आइतबार

नेता महतोलाई ताप्लेजुङमा कालो झण्डा

blog

नेता राजेन्द्र महतोलाई युवाहरूले कालो झण्डा देखाउँदै । तस्बिरः साहारा लिम्बु

साहारा लिम्बू 

फुङलिङ, फागुन १० गते । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोलाई कालो झण्डा देखाइएको छ । विकास प्रेमी युवा समाज ताप्लेजुङले फुङलिङ नगरपालिका वडा ६ होटल प्यारिज अगाडि कालो झण्डा देखाइएको हो । 

फागुन ६ गतेदेखि ८ गतेसम्म नो केबलकार समूहले गरेको शान्तिपूर्ण मुक्कुमलुङ पदयात्रामा सहभागी भएको भन्दै कालो झण्डा देखाइएको छ । उहाँ फागुन ८ गतेका लागि तय गरिएको पदयात्राको अन्तिम दिनलाई सम्बोधन गर्न ताप्लेजुङको पाथिभरा मुक्कुमलुङ क्षेत्र आउनुभएको थियो । 

पदयात्रापछि काफ्लेपाटीमा रहेको केबलकारको निर्माणाधीन स्थलमा आन्दोलनरत पक्ष र प्रहरीबिच झडप भएको थियो । झडपमा प्रहरी, शसस्त्र प्रहरी, आन्दोलनरतपक्ष र सवारी चालक गरी धेरै जना घाइते भएका थिए । 

यस्तै, झडपलाई नियन्त्रणमा लिन प्रहरीले ७ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । सो दिनदेखि काफ्लेपाटी क्षेत्र तनाव ग्रस्त बनेको थियो । आज आन्दोलनरत पक्षहरूसँगै पूर्व उपप्रधानमन्त्री महतो पनि फुङलिङ बजार फर्किनुभएको थियो । सोही क्रममा विकासप्रेमी युवा समाज ताप्लेजुङले कालो झण्डा देखाएको हो । यसअघि पनि केबलकार निर्माणको पक्षमा समाजले ‘बृहत् नागरिक सदभाव  र्‍याली निकालिएको थियो ।