• ११ फागुन २०८१, आइतबार

समृद्ध नेपालका लागि चीनसँगको आर्थिक–कूटनीतिमा जोड

blog

त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागका सङ्काय सदस्य डा. केशव बस्याल ‘नेपाल–चीन साझेदारीः नेपालको वित्तीय वृद्धिलाई अगाडि बढाउने’ कार्यक्रममा बोल्नुहुँदै ।

काठमाडौं, फागुन १० गते । विज्ञहरूले नेपाललाई समृद्ध बनाउन चीनबाट पाठ सिक्नुपर्ने सुझाव दिएका छन् । शनिबार काठमाडौंमा फ्रेन्ड्स अन द क्लाउडः प्लेटफर्म अफ इन्फ्लुएन्सर्स नेपालद्वारा आयोजित ‘नेपाल–चीन साझेदारीः नेपालको वित्तीय वृद्धिलाई अगाडि बढाउने’ कार्यक्रमका सहभागीहरूले यस सम्बन्धमा आफ्नो विचार राखेका थिए ।

कार्यक्रममा बोल्नुहुँदै त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागका सङ्काय सदस्य डा. केशव बस्यालले आर्थिक कूटनीति कायम राखेर चीनबाट अनावश्यक पूर्वअनुमान नगरी सरोकारवालाहरूले सिक्नुपर्ने बताउनुभयो ।

“चीनबाट लाभ वा समर्थन लिनु अघि अनावश्यक वैचारिक निर्णय गर्नु हाम्रो प्रमुख समस्या हो, नेपालले आर्थिक समृद्धि हासिल गर्न चीनसँग आर्थिक कूटनीति कायम गर्नु आवश्यक छ’’ डा. बस्यालले भन्नुभयो । उहाँले दीर्घकालीन लक्ष्यहरू प्राप्त गर्न अनुसन्धान र तथ्यमा आधारित योजना र नीतिहरू बनाउन सरोकारवालाहरूलाई सुझाव पनि दिनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका राष्ट्रिय योजना आयोगका सदस्य डा. सुदन कुमार ओलीले समृद्ध नेपाल बनाउने लक्ष्य हासिल गर्न योजना निर्माणलगायतका विषयमा चीनबाट सिक्नु आवश्यक रहेको बताउनुभयो ।

“हामीले चीनले यतिबेला कृत्रिम बुद्धिमत्ता (एआई) बाट लाभ उठाइरहेकोे देखिरहेका छौं, जुन १९९० को दशकदेखि योजना गरिएको थियो । अर्कोतर्फ, हामी ७० वर्षभन्दा बढी समयदेखि एउटै विषयमा मात्र छलफल गरिरहेका छौ ।’’ लुम्बिनी एनपीसी सदस्य डा. ओलीले भन्नुभयो “त्यसैले हाम्रो जे कुरालाई पनि सामान्यीकरण गर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ र हरेक गतिविधिहरू समृद्ध नेपाल बनाउनमा केन्द्रित गर्नुपर्छ ।’’

उहाँले पर्यटन, मानव पूँजी विकास, प्रविधि हस्तान्तरण र उच्च–स्तरीय प्रविधिको प्रयोग नेपाललाई समृद्ध बन्ने मुख्य आधार क्षेत्र भएको उल्लेख गर्नुभयो ।

त्यसैगरि, पूर्वाधार विज्ञ लालकृष्ण केसीले आर्थिक विकासका लागि पूर्वाधार विकास आवश्यक रहेको बताउनु भयो । “युद्ध जस्ता कुनै पनि विश्वव्यापी परिवर्तनबाट कमजोर अर्थतन्त्र भएको नेपाल जस्तो देश पीडित हुन्छ त्यसैले हामीले आर्थिक समृद्धि हाँसिल गर्न हाम्रा स्थानीय स्रोत प्रयोग र पूर्वाधार विकास गर्नैपर्छ ।’’

नेपाल भौगोलिक रुपमा विशाल आर्थिक राष्ट्रहरूसँग जोडिनु अवसर र चुनौती दुवैको रूपमा उल्लेख गर्दै सूचना प्रविधि विज्ञ बसन्त बनले नेपालले विकासका लागि चीनबाट धेरै कुरा सिकेर विज्ञान–प्रविधि विकासको गति समात्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै फ्रेन्ड्स अन द क्लाउडः प्लेटफर्म अफ इन्फ्लुएन्सर्स, नेपालका अध्यक्ष सोभित उप्रेतीले भौगोलिक अवस्थामा समान चीनमा भएका विभिन्न क्षेत्रका सफल विकासका उदाहरणबाट नेपालले आफ्नो विकासका लागि पाठ सिक्न सक्ने अवसर रहेको बताउनुभयो ।