कपिल ज्ञवाली
सिद्धार्थनगर, फागुन ९ गते । बुटवलमा महिला भलिबल प्रतियोगिता शनिबारदेखि जिपी कोइराला महिला भलिबल रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।
शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको १५ औं स्मृति दिवसको अवसरमा जिपी कोइराला स्मृति प्रतिष्ठान रुपन्देहीले १३ औं संस्करणको महिला भलिबल प्रतियोगिता आयोजना गरिएको पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा आयोजना गरिएको प्रतियोगितामा करिब १७ विद्यालयका छात्राको टिम सहभागी हुने प्रतिष्ठानका अध्यक्ष रामबहादुर कार्कीले जानकारी गराउनुभयो ।
प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार रुपियाँ नगद पुरस्कारसहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै दोस्रो हुनेलाई २० हजार, तेस्रो हुनेलाई १५ हजार र सान्त्वना हुनेलाई १० हजार नगद पुरस्कारसहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतिष्ठानका सदस्य तथा प्रतियोगिताका संयोजक बाबुराम विकले जानकारी गराउनुभयो । उहाँका अनुसार उत्कृष्ट खेलाडी र अनुशासित खेलाडीलाई पनि एक हजार पाँच सय नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
प्रतियोगितामा सामुदायिक विद्यालय र संस्थागत विद्यालयलाई छुट्टाछुट्टै पोलमा राखेर खेलाइने छ । स्वास्थ्य र राष्ट्रका लागि खेलिने खेलकुदका विधाअन्तर्गत राष्ट्रिय खेल भलिबलमा विद्यालयहरूको सहभागिता बढाउनका लागि सामुदायिक विद्यालय र संस्थागत विद्यालयलाई छुट्टाछुट्टै पोलबाट खेलाउन लागिएको खेलका प्राविधिक सदस्य यमप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।