कुनै राजनीतिक दलका एक नेताले प्रसङ्गवश भनेका थिए, “नेता हुन त्यसै सजिलो छ र ? अघिपछि प्रशस्त कार्यकर्ता हुनुपर्छ । पार्टीभित्र आफ्नो हैकम जमाउन सक्नुपर्छ, अझ जनताले पत्याएको पार्टीको झण्डा र सिद्धान्त बोकेर हिँड्न सकेमा मात्र भइन्छ नेता ।” उनको त्यो भनाइ थोत्रो भएझैँ लागिरहेछ किनभने जनताको मन जित्न सकेमा एक्लो व्यक्ति पनि नेता बन्न सक्दोरहेछ भन्ने प्रमाण धरान नगरपालिकका नवनिर्वाचित प्रमुख हर्क साङपाङ राईले दिएका छन् । काँधमा राष्ट्रिय झण्डा ओढेर साइकल र अटोरिक्सामा एक्लै घरघरै पुगेर भोट माग्दै हिँडेका उनलाई त्यहाँका जनताले विश्वास गरेर मत दिए । यस अर्थमा धराने जनताले सच्चा नेताको पहिचान गर्न सफल भएका छन् । यति मात्र होइन, देशभरिबाट नै उनलाई बधाई तथा शुभकामनाको ओइरो लागेको छ । त्यसैले त मलाई भन्न मन लागिरहेछ नेता हुन त्यति कठिन पनि त हुँदोरहेनछ ! काम गर्ने इच्छाशक्ति, लगनशीलता र इमानदारी भए पुग्दोरहेछ !
एउटा महानगरमा रहेर स्थानीय निर्वाचनलाई नियालिरहेकी थिएँ । एकाबिहानैदेखि राजनीतिक दलका झण्डा फहराएका गाडी तथा मोटरसाइकलका लस्कर एकपछि अर्को गर्दै सडकमा ओहोरदोहोर गरिरहन्थे । त्यसका साथै चर्का नाराबाजी, चुनावी गीत तथा नाचगान दिनभरि नै भइरहन्थ्यो । ध्वनि प्रदूषणका कारण कहिले मौन अवधि सुरु होलाभैmँ भइरहेको थियो । चुनावी प्रचारमा खटिएकाहरूका लागि निश्चित ठाउँहरूमा बिहानदेखि बेलुकासम्मका लागि खाजा–खाना (मासु–भातसहित) व्यवस्था गरिएको थियो । जसले जे खान चाहन्छ सोको उपलब्धता देखिन्थ्यो ।
एक हिसाबले भन्ने हो भने त्यो बेला ज्यालादारी श्रमिकलाई आफ्नो काम छाडेर चुनावी प्रचारमा लाग्दा फाइदा देखिन्थ्यो । एउटा सम्झनयोग्य दृश्य थियो–मध्य दिनमा चोकमा चुनावी गीतमा सामूहिक नृत्य चल्दै थियो । अत्यधिक गर्मी हुनाले कार्टुनका कार्टुन मिनरल वाटर ल्याइयो तर त्यो खानका लागि मात्र नभएर शरीरमा खन्याउनका लागि पनि । क्षणभरमा नै त्यहाँ सो पानीको खोलो बग्यो मानौँ त्यो पानी पैसा तिरेर होइन मूलबाट उभाएर ल्याइएको हो । यसैगरी खाने खानेकुराको दुरुपयोग देखिन्थ्यो । एउटा युवाले त आफ्नो साथीलाई खुसुक्क भनेको पनि सुनियो ‘यस्तै चुनाव सधैँभरि भैदिए हुन्थ्यो नि !’ पेट्रोल पम्पहरूले सित्तैमा तेल भरिदिएकामा उनीहरू मख्ख थिए ।
मेरो मनमा प्रश्न उठिरहेको थियो यो सबै खर्च बेहोर्दा त एउटा व्यक्तिको घर–खेत नै जान्छ । के साँच्चै ! कुनै व्यक्तिले आफ्नो पसिनाको कमाइ खर्चेर गरेको होला त त्यस्तो तडकभडकको प्रचारप्रसार ? यदि हो भने उसले चुनाव जितेपछि सबैभन्दा पहिला त त्यही खर्च असुली नगरी रहला र ? यसरी चुनाव जित्ने नेताका लागि पहिलो प्राथमिकता के होला ? आफ्नो खर्च असुली या जनभावनाअनुरूप विकासका काम ? यस्तै कतिपय उम्मेदवारको चुनाव खर्च चन्दाबाट जुटेको हुन्छ तर ती दाताहरूले पनि पसिनाको कमाइभन्दा भिन्दै कमाइ नै चन्दा दिने गर्छन् । त्यसको प्रयोग गरी चुनाव जित्ने जनप्रतिनिधिको पनि पहिलो प्राथमिकता जनता नभई दाताहरू नै हुने गर्छन् । त्यसैले त हुनुपर्नेभन्दा नहुनुपर्ने कामका फाइल अघि बढेको गुनासो सर्वसाधारणले गरिरहेका हुन्छन् ।
पछिल्लो समयमा राजनीतिक क्षेत्र एउटा व्यापारका रूपमा विकसित भइरहेको देखिन्छ । हरेक दलभित्र व्यक्तिको आर्थिक हैसियतका आधारमा स्थान निर्धारण हुँदै गरेको पाइन्छ । पार्टीलाई आर्थिक सहयोग गर्ने तथा चुनावमा प्रशस्त खर्च गर्न सक्ने व्यक्ति नै पार्टीका विभिन्न तह तथा जनप्रतिनिधित्वका लागि योग्य उम्मेदवार मानिन्छ । नेता बन्नका लागि ‘जसरी पनि कार्यकर्ता पाल्नुपर्ने’ बाध्यात्मक परिस्थितिको विकास हामीकहाँ तीव्र रूपमा भइरहेको छ तर त्यसका लागि आर्थिक स्रोत के हो त ? खोजीको विषय बनेको देखिँदैन । खोजी गर्ने हो भने कसैले पनि आफ्नो पैतृक सम्पत्ति खर्चेर कार्यकर्ता पालेको हुँदैन न त पूर्णकालीन राजनीतिज्ञको कुनै पेसा–व्यवसाय नै हुन्छ ! यस्तो अवस्थामा उसको खर्च चलेको हुन्छ कहाँबाट ? हामीकहाँ कुनै पनि जनप्रतिनिधिको सेवा–सुविधाले हालको महँगीमा उसको व्यक्तिगत खर्चका साथै कार्यकर्ता पालिन सक्दैन । त्यसैले उसले खर्चको वैकल्पिक उपाय अपनाउन बाध्य हुन्छ । अन्ततः जनप्रतिनिधिद्वारा प्रत्यक्ष÷परोक्ष रूपमा राज्यकोषको दोहन हुन जान्छ ।
अहिले गान्धी दर्शनबाट प्रेरित दलका नेता हुन् वा माक्र्सवादी चिन्तनले प्रेरित दलका नेता हुन् अथवा माओको सर्वहारा सिद्धान्त बोकेका दलका नेता, सबैको जीवनशैली अत्यन्त विलासी देखिएको छ । राजनीति भनेको जनताको सेवा हो अनि नेता सेवक भन्ने मान्यता केवल नारामा सीमित छ । ‘सादा जीवन उच्च विचार’ त मानौँ उनीहरूको शब्दकोशबाट लोप भइसकेको छ । राजनीतिक क्षेत्रमा मौलाएको यसप्रकारको विसङ्गति झेल्दै आएका आमनेपाली अब सचेत भएर सही राजनीति र सच्चा नेताको खोजी गरिरहेका छन् ।
दूरदर्शी नेताको अभावमा हामी नेपालीले दुर्नियति भोगिरहेका छौँ । समाजमा आर्थिक असमानताको भङ्गालो बढ्दो छ । केही सीमित मानिस सम्पन्नताको चुली चढिरहेछन् भने अधिकांश विपन्नताको खाडलमा धसिइरहेको अवस्था छ । सम्पन्न वर्गको आवश्यकता मानिने फजुल खर्चका कारण विपन्न वर्गको चुलो बल्न नसक्ने अवस्था सिर्जना हुन लागेको छ । पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धिका कारण सम्पूर्ण उपभोग्य वस्तुको भाउ अनियन्त्रित रूपमा बढिरहेको छ । विदेशी मुद्रा तिरेर आयात गरिने महँगो पेट्रोलियम पदार्थ निर्वाचनका बेला पानीसरी खर्चिएको थियो । मितव्ययिताको नीति लिएर अनावश्यक तडकभडक र प्रतिस्पर्धा नदेखाई चुनावी प्रचार गरिएको भए .....!
छिमेकी मुलुक आर्थिक सङ्कटमा परिरहेको अवस्थामा हाम्रोजस्तो आयातमुखी देशले निकट भविष्यमा यस प्रकारको सङ्कट बेहोर्नु नपर्ला भन्न सकिँदैन । यस्तो अवस्थामा मितव्ययिता अपनाउनुका साथै विलासी जीवनशैलीमाथि नियन्त्रण आवश्यक देखिन्छ । मुलुकले अझै दुई चरणको निर्वाचन सम्पन्न गर्नुपर्ने अवस्था छ । बढ्दो चुनावी खर्चको मारमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा पर्ने त आमजनता नै हुन् । अतः सरकारले मात्र होइन हरेक राजनीतिक दलले पनि जनभावनाअनुरूप मितव्ययी तथा साधारण चुनावी अभियानको नीति तय गर्नुपर्छ ।
भड्किलो प्रचारप्रसार तथा प्रलोभनमा परेर अबका मतदाताले मत दिँदैनन् बरु गोप्य मतदानमा उनीहरू आफ्नो मनले खाएको व्यक्तिलाई नै मत दिन्छन् भन्ने यथार्थ मनन् गरिनुपर्छ किनकि, अब नेपाली जनता सच्चा नेताको पहिचान गर्न सक्षम भइसकेका छन् ।
 
                                
                             
                                             
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                