कास्की समाचारदाता
कास्की, फागुन ९ गते । वरिष्ठ हास्यव्यङ्ग्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सामाजिक सञ्जालमा आफूविरुद्ध अनावश्यक भ्रामक हल्ला फैलाएको विषयका बारेमा खण्डन गर्नुभएको छ । श्रेष्ठ र आचार्यले संयुक्त रूपमा एउटा भिडियोमार्फत खण्डन गर्नुभएको छ । केही व्यक्तिले सनातन धर्मको विरोध गरेर कार्यक्रम बनाएको भन्दै सामाजिक सञ्जालमा व्यापक प्रचार गरेका छन् । यसैको खण्डन गर्दै श्रेष्ठ र आचार्यले युएसएडको पैसाले सचेतनामूलक कार्यक्रम निर्माण गरेको प्रस्ट्याउनुभएको छ ।
श्रेष्ठले भन्नुभयो, “मह जोडीले युएसएडको पैसाले धर्मविरोधी प्रचार ग¥यो भन्दै हिँडे भन्ने प्रचारले चित्त दुखेको छ । हामी सबैलाई हितैषी सम्झन्छौँ, हितैषीबाट यस्तो आरोप सुन्नुपर्दा चित्त दुखेको छ । संसारमा राम्रा नराम्रा कुरा हुन्छन् । हामीले राम्रा राम्रा कुरा छानेर काम गरेका छौँ । जस्तो कि, कुष्ठरोग, क्षयरोग, खोपका बारेमा जानकारीमूलक कार्यक्रम गर्नु अधर्म होइन ।” उहाँले चित्त नबुझे युट्युबमा राखिएका टेलिफिल्म हेर्न आग्रह गर्नुभयो ।
आचार्यले युएसएडको पैसाले कुनै पनि धर्मको विरोध नगरेको उल्लेख गर्नुभयो । युएसएडको पैसाले ‘हरिबहादुर मदनबहादुर, आमा, असल लोग्ने’ लगायतका विभिन्न किसिमका सचेतनामूलक कार्यक्रम गरेको उहाँले प्रस्ट्याउनुभयो । “हाम्रा कार्यक्रम युट्युबमा किताब जस्तै छर्लङ्ङ छन् । सनातन धर्मको विरोध गरे भनेर प्रचार गर्नु कलपोकल्पित भएको उहाँको भनाइ छ ।