• १० फागुन २०८१, शनिबार

जन्ती बोकेको बस र ट्रक ठोकिँदा एकको मृत्यु, पाँच घाइते

blog

एआईद्वारा निर्मित काल्पनिक चित्र ।

भक्तिविलास पोखरेल

गाईघाट, फागुन ९ गते । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ७ जोगिटोलस्थित मदनभण्डारी राजमार्गमा जन्ती बोकेको बस र मिनिट्रक एक आपसमा ठोकिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य पाँच जना गम्भीर घाइते भएका छन ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक सन्तोष कार्कीका अनुसार सो दुर्घटनामा बारा जिल्लाको गढी गाउँपालिका वडा नं ४ का ७० वर्षीय सिताराम धामीको उपचारका लागि न्युरो अस्पताल विराटनगर लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । 

दुर्घटनामा घाइते भएका २० जनाको उदयपुर अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको तथा गम्भीर घाइते भएका पाँच जनामध्ये उदयपुर जिल्ला अस्पतालमा दुई र न्युरो अस्पतालमा तीनको  उपचार भइरहेको छ ।

प्रहरी निरीक्षक कार्कीका अनुसार बारा जिल्लाबाट विवाहको जन्ती लिएर गाईघाट तर्फ आउँदै गरेको बाग्मती प्रदेश ०६—००१ ख ०१९५ नम्बरको बस र विपरीत दिशाबाट कटारी तर्फ जाँदै गरेको ना ८ ख २४०४ नम्बरको मिनिट्रक शुक्रवार बिहान २ः३० बजे एक आपसमा ठोकिदा उक्त दुर्घटना भएको थियो । घटनको सम्बन्धमा थप अनुसन्धान भइरहेको तथा बस र मिनिट्रक दुई वटै सवारीका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ