• १० फागुन २०८१, शनिबार

सिरहा घटना : विभेदमा संलग्नलाई कारबाही गर्न दलित सङ्घ संस्थाको माग

blog

आन्दोलनमा सहभागी दलित सङ्घसंस्थाका प्रतिनिधि ।

काठमाडौँ, फागुन ८ गते। अन्तरजातीय विवाहका कारण दलित समुदायमाथि भइरहेका हत्या, हिसां र विभेदका घटना तत्काल बन्द गरी दोषीलाई कारबाही गर्न दलित सङ्घसंस्थाले माग गरेका छन्। सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइयाकी रिंकु सदायको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै नेपाल दलित मुक्ति मोर्चाले बिहीबार विरोध प्रदर्शन गरी न्यायको माग गरेको छ। 

संयुक्त दलित राजनीतिक सङ्घर्ष समितिले अन्तरजातीय विवाहका कारण भइरहेका हत्या र हिंसाका घटनामा संलग्नलाई तत्काल कारबाही गरी पीडित परिवारलाई न्याय दिन गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएको थियो। तर सरकारले विभेदका घटनाहरूलाई गम्भीरताका साथ नलिएपछि दलित सङ्घसंस्था विरोधमा उत्रिएका छन्। 

दलित समुदायमाथि श्रृखलाबद्ध हत्या र विभेदका घटना भई रहेको तर प्रहरी प्रशासन र सरकारले बेवास्ता गरिरहेको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य परशुराम रम्तेलले बताउनुभयो। छुवाछूत, विभेद, उत्पीडन र हत्याविरुद्ध सरकारको ध्यानाकर्षण गराउन विरोध प्रदर्शन गरिएको उहाँले बताउनुभयो।  

मोर्चाका अध्यक्ष तथा पूर्व मन्त्री दलजित श्रीपालीले दलित समुदायमाथि भएका संरचनात्मक हिंसाका घटनामा मेलमिलाप गरिने, परिवारको घेराभन्दा बाहिर लैजान नदिने, झुट्टा मुद्दामा फसाउने, ऐन कानुनलाई बेवास्ता गर्ने कामहरू भइरहेका तर सरकार मुकदर्शक भएको बताउनुभयो। 

सर्लाहीका सत्येन्द्र राम र नेहा गुप्ताको अन्तरजातीय बिहे हुँदा तत्काल पक्राउन गरेको प्रहरीले रिंकु सदायको घटनामा भने पक्राउ नगरिएकोमा विरोध भइरहेको छ। मोर्चाका अनुसार सदाय माघ २७ गते राति ९ बजेतिर शौचालय गएकी जानुभएको थियो। बिहान ३ बजे आफै घर फर्केपछि बलात्कार भएको परिवारलाई भन्नुभएको थियो। रिंकुले स्थानीय रुपेश मण्डल, टिंकु मण्डल र चन्दन मण्डलले आफूलाई बलात्कार गरेको आमासँग भन्नुभएको थियो।

पीडित परिवारका फागुन १ गते किटानी जाहेरी दिएका थिए। बिहीबार पुनः पुरक जोहरी दर्ता गराएका छन्। घटनामा संलग्न तीन जना फरार छन्। घटना भएको १२ दिन बितिसक्दा पनि प्रहरीले पक्राउ गरेको छैन।