• ९ फागुन २०८१, शुक्रबार

राष्ट्रिय वाणिज्य बैँकद्वारा ९७ जना कर्मचारीलाई पूर्व सेवाकालिन तालिम

blog

राष्ट्रिय वाणिज्य बैँक लिमिटेडले सञ्चालन गरेको चौध दिने पूर्व सेवाकालिन तालिममा सहभागी कर्मचारीहरू । तस्बिर : राष्ट्रिय वाणिज्य बैँक लिमिटेड

काठमाडौँ, फागनु ८ गते । राष्ट्रिय वाणिज्य बैँक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तर्वार्ताबाट कोशी, मधेश र बागमती प्रदेशका लागि प्रदेशगत रूपमा छनोट भएका नवनियुक्त सहायक (प्रशासन सेवाका) ९५ जना र वरिष्ठ सहायक स्तरका दुई जना गरी जम्मा ९७ जना कर्मचारीहरूलाई चौध दिने पूर्व सेवाकालिन तालिम काठमाडौँमा सञ्चालन गरिरहेको छ ।

तालिमको उद्घाटन गर्नुहुँदै बैँकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले यस बैँक प्रति जनताको अत्यन्तै विश्वास रहेको र त्यस विश्वासलाई जोगाई राख्न फ्रन्टलाइनमा बस्ने कर्मचारीहरूले सदैव  जिम्मेवार भएर सेवा दिनुपर्ने बताउनुभयो ।

उहाँले विभिन्न प्रक्रिया पश्चात बैँकले युवा कर्मचारीहरूलाई नियुक्ति दिएको बताउँदै बैंकिङ्ग क्षेत्रमा भएको बढ्दो जोखिमलाई न्यूनीकरण गरी कार्य गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बैँकका नायब प्रमुख कार्यकारी अधिकृतहरू सरस्वती अधिकारी र देवेशप्रसाद लोहनीले नवनियुक्त कर्मचारीहरूलाई कार्यस्थलमा जिम्मेवारी बहन गर्दा अपनाउनुपर्ने कर्तव्य बोध गराउनुभएको थियो ।

कार्यक्रममा मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त सहायक तथा वरिष्ठ सहायक ९७ जना कर्मचारीहरूलाई बैँकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ गराउनुभएको थियो । कार्यक्रम माानव संशाधन विभागका विभागीय उपप्रमुख हरिबाबु आचार्यले सञ्चालन गर्नुभएको थियो । 

कार्यक्रममा बैँकका उपकार्यकारी अधिकृतहरू विनयरमण पौडेल, दुर्गाकुमारी कँडेल, विभागीय प्रमुख पद्यमा लक्ष्मी जिसीलगायत कर्मचारीहरूकाे उपस्थिति रहेको थियो । बैँकको हाल सात प्रदेश, ७७ जिल्लाका सबै सदरमुकामसहित २९४ वटा शाखा कार्यालय, ७२ वटा एक्सटेन्सन काउन्टर, ३१२ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।