• ९ फागुन २०८१, शुक्रबार

सरकारले ल्याएका अध्यादेश सहमतिमै पारित हुन्छन् : मन्त्री भण्डारी

blog

अत्तरिया (कैलाली),  फागुन ८ गते ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले ल्याएका अध्यादेश सहमतिमै पारित हुने बताउनुभएको छ ।

प्रेस चौतारी कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकारले पछिल्लो समय ल्याएका अध्यादेशले छिट्टै संसदमा प्रवेश पाउने बताउनुभयो । उहाँले भन्नुभयो, “संसद्को अधिवेशन जारी छ, केही समयमा सरकारले ल्याएका अध्यादेशले संसदमा प्रवेश पाउने छन्, सहमतिका साथ अध्यादेश पारित गर्ने गरी तयारी भइरहेको छ ।”

मन्त्री भण्डारीले सरकारले ल्याएका अध्यादेशले निजी क्षेत्र उत्साहित भएको उल्लेख गर्दै अध्यादेशले लगानीमैत्री वातावरण बन्ने खालको सुनिश्चितता भएको बताउनुभयो । “अध्यादेशले अगाडि ल्याएका मान्यता सरकारको प्रभावकारितासँग कति उपयुक्त छन् भन्ने कुराको छलफल र बहसबाट यसलाई टुङ्ग्याउनु पर्छ जस्तो लाग्छ”, उहाँले भन्नुभयो, “संसद्मा पनि एउटा वातावरण बन्छ, त्यसलाई अगाडि बढाउने सरकारले तयारी थालेको छ ।”

त्यस्तै, तत्काल गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई सेती प्रादेशिक अस्पतालमा रहेका केही जनशक्तिलाई जोडेर अगाडि बढाउने कुरा भएको उहाँले बताउनुभयो । रासस