कपिल ज्ञवाली
सिद्धार्थनगर, फागुन ८ गते । बुटवल १५ सेमलारमा जारी श्रीमद् भागवत धनधान्याञ्चल ज्ञान महायज्ञमा आजसम्ममा करिब डेढ करोड रुपियाँ संकलन भएको छ ।
महायज्ञमा दैनिक दाताहरुको संख्या बढ्दैगएको छ । चौथो दिन बिहीबार बुटवल उपमहानगरपालिका १५ नम्बर वडा कार्यालयले १० लाख ५१ हजार ५ सय ५५ रूपियाँ प्रदान गरेको छ ।
राष्ट्रिय परोपकार महासंघ नेपाल रूपन्देहीको तत्वावधानमा परोपकारकुञ्ज धाम निर्माण गर्ने उद्देश्यसहित आयोजित महायज्ञमा दातालाई सम्मान गरिएको छ । बुटवल वडा १५ नम्बरका वडाध्यक्ष शिव रानासहितका जनप्रतिनिधिलाई दान प्रदान गरेकोमा सम्मान गरिएको हो ।
राष्ट्रिय परोपकार महासंघ नेपालले देशका विभिन्न जिल्लामा आफ्ना अभियानहरू सञ्चालन गर्दै आइरहेको संकल्पकर्ता एवं कथाबाचक भागवत भाष्कर पण्डित कमलनयन गौतमले बताउनुभयो ।
बुटवल–१५ स्थित भाटाप्रगति टोलमा करिब ४ विघा क्षेत्रफलमा बिस्तार हुनेगरी परोपकार कुञ्जधाम निर्माणको योजनाअनुरुप काम निर्माणको काम संगसंगै चलिरहेको छ । फागुन ४ गतेदेखि सुरू भएको महायज्ञ फागुन ११ गतेसम्म सञ्चालन हुने महायज्ञ आयोजक मूल समितिका संयोजक हरिध्वज मल्लले बताउनुभयो ।
बिहीबार राष्ट्रिय कलाकार नविन पौडेल, इन्द्रेणीका कृष्ण कडेंल, नारायण लेकाली, अभियन्ता अर्जुन भुसाल, यमलाल भण्डारी लगायतको सहभागिता रहेको आयोजक परोपकार संस्थाका तुल्सीराम भण्डारीले जानकारी दिनुभयो । जनजनका मन मनमा सेवाभाव जागृत गर्ने उद्देश्यले महासंघ वि.सं २०६४ सालमा स्थापना भएको हो ।
महायज्ञको फागुन ४ गते पर्यटन तथा संस्कृतिमन्त्री बद्री पाण्डेले उद्घाटन गर्नुभएको थियो । सोही दिन सो क्षेत्रमा हेलीकोप्टरबाट पुष्पबृष्टि गरिएको थियो ।