• १० फागुन २०८१, शनिबार

नेपाली नयाँ वर्षमा लेकसाइडमा फेवा महोत्सव

blog

महोत्सव तयारीका लागि शुक्रबार भएको होटल संघ पोखराको छलफल कार्यक्रमका सहभागी। तस्बिरः गोरखापत्र

फडिन्द्र अधिकारी

लेखनाथ, फागुन ९ गते। पर्यटन राजधानी पोखरामा नेपाली नयाँ वर्ष धूमधामसँग मनाउने तयारी सुरु भएको छ। अङ्ग्रेजी नयाँ वर्ष भव्य रुपमा महोत्सव गरी मनाइँदै आएको पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा नयाँ वर्ष २०८२ लाई विशेष तवरले मनाउन लािगएको हो।

नेपाली नयाँ वर्षमा २० औँ पटक आयोजना गर्न लागिएको फेवा नव वर्ष महोत्सवको तयारी तीव्र बनाइएको छ। होटल संघ पोखराले आगामी चैत ३० देखि वैशाख १ गतेसम्म लेकसाइडको करिब तीन किलोमिटरमा महोत्सव आयोजना गर्दै छ। 

महोत्सवलाई सफल बनाउन तयारी थालिएको र विभिन्न उपसमिति गठन गरिएको होटल संघ अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो। “अङ्ग्रेजी नयाँ वर्ष जस्तै नेपाली नयाँ वर्षलाई पनि मनाउँदै नेपाली कला तथा संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्य महोत्सव गर्दै छौँ,” उहाँले भन्नुभयो। 

ड्यामसाइडदेखि गैराको चौतारासम्मको सडकमै महोत्सव आयोजना हुनेछ। खानाका परिकार, नेपाली मौलिक कला र संस्कृति झल्कने नाच, पर्यटकीय स्टल र खेलकुद गतिविधि यसका आकर्षण हुनेछन्। महोत्सव अवधिभर पाहुनालाई संघले प्रदान गर्ने विशेष छुटको चाँडै घोषणा गरिने जनाइएको छ।

महोत्त्सवलाई आयोजक समितिले उपसमितिका संयोजकको जिम्मेवारी बाँडफाँडसमेत गरिसकेको छ। महोत्सवको प्रचारप्रसारसहित आन्तरिक पर्यटकलाई पोखराको निम्तो दिनसंघले दुई दशक अघिदेखि ‘जाउँ है पोखरा’ अभियानसमेत सञ्चालन गर्दै आएको महोत्सवका सहसंयोजक गणेशराज पहारीले उल्लेख गर्नुभयो।