• ७ वैशाख २०८२, आइतबार

रेस्टुरेन्टमा रमाउन थाले गिद्ध

blog

जटायु रेस्टुुरेन्टमा गिद्ध ।

नवलपरासी समाचारदाता 

पिठौली, फागुन ८ गते । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको पिठौलीमा स्थापना गरिएको जटायु रेस्टुरेन्टमा रमाउन आउने गिद्धको सङ्ख्या बढ्दै गएको छ । यो समयमा गिद्ध घुम्ने मौसम भएकाले रेस्टुरेन्टमा गिद्धको सङ्ख्या बढ्दै गएको रेस्टुरेन्ट व्यवस्थापन समितिका अध्यक्ष डिबी चौधरीले बताउनुभयो । 

रेस्टुरेन्टमा गिद्धको आहारविहारको पनि यहाँ राम्रो व्यवस्थापन भएकाले हरेक वर्ष मङ्सिरदेखि वैशाखसम्म गिद्ध यहाँ रमाउन  आउने गरेका अध्यक्ष चौधरीको भनाइ छ । उहाँ भन्नुहुन्छ, “एक वर्षयता मात्रै यहाँ ३२ वटाभन्दा बढी गिद्धको मृत्यु भइसकेको छ । जटायु संरक्षणका लागि २२ वर्षअघि स्थापना गरिएको जटायु रेस्टुरेन्ट पछिल्लो समय अध्ययन केन्द्रका रूपमा पनि विकास हुँदै गएको छ । लोपोन्मुख अवस्थामा रहेको गिद्ध संरक्षण गर्ने अवधारणाले गिद्धका लागि रेस्टुरेन्ट स्थापना गरिएको थियो । 

अध्यक्ष डिबी चौधरीका अनुसार अहिले यहाँ जैविक विविधता, पर्यापर्यटन एवं वन तथा वातावरण अध्ययन गर्ने विद्यार्थी तथा सोधकर्ताहरू गिद्ध, तिनका प्रजाति, गिद्धको जीवनशैली र बासस्थानका विषयमा अध्ययन गर्न आउने गर्छन् । 

यहाँ गिद्ध अवलोकन र अध्ययन गर्नका साथै खाना खुवाउन आउनेको सङ्ख्या पनि बढेको छ । हाल दैनिक साताको दुई दिन अवलोकनका लागि खुला गर्ने गरिएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो । गिद्धलाई पनि हप्ताको दुई दिन खाना दिने गरिएको छ भने अन्य दिन उनीहरूले वातावरणमा घुमफिर गरेर बाहिरको खाना खाने गर्छन् ।

पछिल्लो समय विषादियुक्त आहारा र बासस्थानमा आएको ह्रासका कारण बर्सेनि गिद्ध मासिँदै गएपछि नेपालमा पहिलो पटक चौधरीको अगुवाइमा समुदायस्तरबाट जटायु रेस्टुरेन्टको स्थापना गरिएको थियो । यहाँ लोपोन्मुख गिद्धलाई विषादीरहित आहारा उपलब्ध गराउने गरिएको छ । समुदायस्तरबाट  नै रेस्टुरेन्टको सञ्चालन र व्यवस्थापन गरिएको छ । रेस्टुरेन्टले गिद्धको आहाराका लागि गाउँघरबाट मरेका गाईभैँसी ल्याएर दिने गरिएको छ । रेस्टुरेन्टको गौशालामा पालिएका गाईवस्तु मरेपछि गिद्धका आहाराका लागि उपलब्ध गराउने गरिएको छ । तर गिद्धले डाइक्लोफेनेको प्रयोग गरी उपचार गराइएका पशुको सिनो खाएमा मिर्गौलामा असर भई केही दिनमा नै मर्ने गरेका अध्ययनकर्ताको भनाइ छ । 

त्यस्तै वासस्थानमा आएका ह्रासका कारणले पनि गिद्ध लोपोन्मुख अवस्थामा पुगेका छन् । पछिल्लो समय गिद्ध बस्ने तथा गुँड लगाउने सिमलका रुख मासिँदै गएपछि गिद्धको वासस्थानमा ह्रास आएको अध्ययनकर्ता बताउँछन् । प्रकृतिको कुचीकारका रूपमा रहेका गिद्ध संरक्षणका लागि ताकावासोती–१३ मा रहेको नमुना सामुदायिक मध्यवर्ती वनको करिब ७८ बिघा क्षेत्रफल उपलब्ध गराइएको छ । 

रेस्टुरेन्ट  नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये आठ प्रजातिका गिद्ध आउने गरेका छन् । यहाँ अहिले रैथाने प्रजातिका डङ्गर, सेतो, सुन र सानो खैरो गिद्ध, राजगिद्ध, हिमाली गिद्ध, खैरो गिद्ध र लामो ठोडेगिद्ध रहेका छन् ।