प्रकाशविक्रम शाह
कैलाली, फागुन ८ गते । कैलालीको जानकी गाउँपालिका देशभरका अन्य पालिका र विभिन्न निकायलाई विपत् व्यवस्थापनबारे सिकाउने थलो बन्न थालेको छ । पालिकाले विपत्बारे असल अभ्यास गरेपछि देशभरका विभिन्न पालिका र निकाय जानकीको अभ्यासबाट सिक्नका लागि कैलाली आउने गरेका छन् ।
जानकीले मौसमको पूर्वानुमान पाउनेबित्तिकै वडाका संयन्त्रबाट बाढीबाट सम्भावित जोखिममा पर्ने गाउँटोल र स्कुलमा जानकारी गराउने गरेको सो पालिकाका अध्यक्ष गणेश चौधरी बताउनुभयो ।
यस्तै गरेर सो पालिकाले थारू समुदायका पुर्खौंदेखि चल्दै आएको चिराकी प्रथाका मानिसलाई परिचालन गरेर जोखिममा पर्ने सम्भावना भएका गाउँटोलका घर घरमा बाढी आउनेबारे पूर्वसूचना दिने गरेको छ ।
अध्यक्ष चौधरीका अनुसार बाढीलगायतका महत्वपूर्ण क्रियाकलापमा सूचना प्रवाह गर्ने त्यस्ता चिराकीलाई बडघर ऐन बनाएर सेवा, सुविधा दिने तयारी भइरहेको छ ।
जानकीमा कर्णाली र पथरैया नदीले विपत् निम्त्याउने गरेको छ । ती नदी पानीले भरिएर अनियन्त्रित हुँदा आउने बाढीबाट हरेक वर्ष सयौँ परिवार प्रभावित हुने गरे पनि पानी पर्नेबित्तिकै करिब तीन सय परिवार प्रभावित हुने गरेका छन् ।
बाढीले प्रभाव पर्ने अवस्था आउँदा स्थानीयलाई बस्ने सेल्टरसमेत सो पालिकाले बनाएको छ । अहिले विपत्को जोखिममा रहेका वडा नम्बर ४ र ७ मा विपत् सेल्टर बनाइएको छ भने ६ र ९ लाई पायक पर्ने गरेर सेल्टर बनाउने तयारी भइरहेको छ । बाढीबाट जानकीका वडा नम्बर ३, ४, ६, ७ र ९ प्रभावित हुने गरेका छन् ।
ती सेल्टरका कारण अहिले हामीले बाढी आउँदा थप केही खर्च गर्नु परेको छैन मात्र खानेपानी पुगाउँछौँ, अध्यक्ष चौधरीले बताउनुभयो ।
विपत् सम्पर्क व्यक्ति नेत्र न्यौपानेका अनुसार विपत् अभ्यास बुझ्नका लागि सिन्धुपाल्चोक, रसुवाका पाँच, दैलेखका पाँच, जुम्लाका दुई, बर्दियाका एक, कैलालीकै दुई पालिकाको टोली जानकी गाउँपालिका पुगेको छ ।
यस्तै गरेर जाजरकोटका दुई, प्युठानका एक र बझाङका दुई पालिकाले समेत विपत् व्यवस्थापनबारे बुझेर गएका छन् ।
संयोजक न्यौपानेका अनुसार विपत् व्यवस्थापनको अभ्यास हेर्न समाज कल्याण परिषद् र रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयको टिम पनि जानकी आइसकेको छ ।
जानकी गाउँपालिको विपत्बारेको असल अध्यासकै कारण अध्यक्ष चौधरीलाई गत वर्ष जर्मनीको एक कार्यक्रममा बोलाइएको थियो । ग्लोबल डाइलक प्लेटफमसम्बन्धी सो कार्यव्रmममा अध्यक्ष चौधरीले विपत् व्यवस्थापनसम्बन्धी असल अभ्यासबारे प्रस्तुति गर्नुभएको थियो ।
पहिले विपत् सम्बन्धी काम गर्नका लागि लोकल अप्रेटिङ सेन्टर पनि थिएन अहिले जानकीले अपरेटिङ सेन्टर पनि बनाएको छ ।