साहारा लिम्बू
फुङ्लिङ्, फागुन ७ गते । ताप्लेजुङकाे पाथीभरामा आउने दर्शनार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले हेल्प डेस्कको स्थापना गरेको छ । पूजामा सहभागी हुने तीर्थयात्रीको मध्यनजर गर्दै आजदेखि फुङ्लिङ नगरपालिका १० स्थित बलुडाँडामा हेल्प डेस्कको स्थापना गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं. १ गुल्म हेडक्वाटर कञ्चनजंघा गुल्म ताप्लेजुङका प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेश महर्जनका अनुसार शसस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस काफ्लेपाटीबाट ५ जनाको टोलीलाई हेल्प डेस्कमा सहजिकरणका लागि खटाइएको छ ।
सशस्त्र प्रहरी नायब निरीक्षक चन्द्र बहादुर बेघाको कमाण्डमा तालिम प्राप्त ५ जना मेडिकल टोली परिचालन गरिएको प्रनाउ महर्जनले जानकारी दिनुभयो । क्षमा पुजा, बिश्व शान्ति मानव एकता सक्कल प्राणीको रक्षार्थको लागि नो केबलकार समुहद्वारा सप्ताह व्यापी रुपमा आयोजित भक्तजनको स्वास्थ्यलाई मध्यनजर गर्दै हेल्प डेस्कको स्थापना गरिएको शसस्त्र प्रहरीले जनाएको छ ।
विशेषगरि तराईका क्षेत्रबाट आएका दर्शनार्थीलाई धेरै उचाइको कारण लेक लाग्ने लगायतका समस्या निम्तिने गरेको छ । सो समस्याबाट हुने जोखिमलाई न्युनीकरण गर्नका लागि सशस्त्र प्रहरीको टोलीले हेल्प डेस्कको स्थापना गरि सेवा प्रवाह सुचारु गरिएको छ ।
नो केबलकार समुहले आयोजना गरेको क्षमा पूजामा सहभागी तीर्थयात्रीका लागि केही दिन हेल्प डेस्क सञ्चालन गर्ने योजना रहेको प्रनाउ महर्जनले बताउनुभयो । थप आवश्यकता अनुसार भावी दिनमा समेत हेल्प डेस्क सञ्चालन गरिने उहाँले भनाई छ ।