यज्ञप्रसाद सापकोटा
गुलरिया(बर्दिया), फागुन ७ गते । उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले भारतको ओडिसा घटनाको सत्यतथ्य पत्ता लगाउन दिल्लीस्थित नेपाली राजदूतावासबाट दुई जना कर्मचारी खटाइएको बताउनुभएको छ । घटनाको सत्यतथ्य पत्ता लागेपछि मात्र नेपाल सरकारले एक्सन दिने उहाँले बताउनुभयो ।
बर्दियाको गुलरियामा राधाकृष्ण मन्दिर पथ सडकको उद्घाटन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । सडकको उद्घाटनपश्चात् पत्रकारहरूसँग संक्षिप्त कुरा गर्नुहुँदै उहाँले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी विश्वाविद्यालयमा अध्ययनरत नेपाल विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरण बारेमा छानबिन भइरहेको र रिपोर्ट आएपछि के भएको रहेछ त्यो अनुसार सरकार एक्सनमा जाने उहाँले बताउनुभयो ।
नेपाल सरकार र गुलरिया नगरपालिकाको ६ करोडको लागत साझेदारीमा राधाकृष्ण मन्दिर सडक गत आर्थिक वर्षमा निर्माण सम्पन्न भएको थियो । गुलरियाको गणेशमान चोकदेखि कृषि विकास बैंक चोकसम्म नालीसहित चारलेनको करिब एक किलोमिटर निर्माण भएको छ । हुलाकी सडकको आसपासमा मात्र सीमित भएको गुलरिया बजार यो सडक निर्माणसँगै थप विस्तार भएको छ ।