• ९ फागुन २०८१, शुक्रबार

सहज बन्दै मुग्लिङ–पोखरा सडक

blog

पश्चिम खण्डको पोखरा क्षेत्रमा कालोपत्रे गरिँदै । तस्बिर : फडिन्द्र अधिकारी

लेखनाथ समाचारदाता 

लेखनाथ, फागुन ७ गते । पोखरादेखि मुग्लिङसम्मको सडक स्तरोन्नतिले गति लिँदा पोखरा आउजाउ सहज हुन थालेको छ । यही अघि सात/आठ घण्टा लाग्ने यो सडक छिचोल्न अचेल दुई घण्टा हाराहारी लाग्छ । आँबुखैरेनीदेखि पोखरासम्मको ८० किमी सडक विस्तार तथा स्तरोन्नति पूर्वी र पश्चिम गरी दुई खण्डमा गरिँदै छ ।

पृथ्वी राजमार्गमा पर्ने ८१ किमी सडक एसियाली विकास बैङ्कको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको गरिएको हो । यो सडक अहिले पूर्वी खण्डमा तीन किमी र पश्चिम खण्डमा १० किमीबाहेक अन्यत्र कमसेकम एकतर्फी कालोपत्रे भइसकेको छ । पूर्वी खण्डको भौतिक प्रगति ७७.७ र पश्चिम खण्डको भौतिक प्रगति ४२.४३ प्रतिशत छ । पश्चिम खण्डको काममा ढिलाइ भए पनि पछिल्लो समय कामले गति लिएको छ । जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डमा चार लेनको १८ मिटर चौडा सडक १२ किमी, चार लेनको २३ किमी चौडा सडक ८.५ किमी र छ लेनको ४६ मिटर सडक १८.३ किमी बनाइँदै छ । यो खण्डमा चार ठुला र आठ साना पुल छन् । 

पश्चिम खण्ड निर्माणको सम्झौता २०७८ जेठमा भए पनि काम तीन महिनापछि मात्र सुरु भएको थियो । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले सात अर्ब ४० करोड ४६ लाखमा पश्चिम खण्ड निर्माणको जिम्मा लिएको छ । गएको भदौ १२ मा पहिलो पटक म्याद सकिएकोमा दुई पटक थप भई ३१ डिसेम्बर २०२५ सम्म म्याद थपिएको छ । यो खण्डमा सेती नदीमा १९० मिटरका दुई लेनका दुई पुल बन्दै छन् । रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले एक अर्ब सात करोड २४ लाखमा पुल निर्माण गरिरहेको छ । २०२५ डिसेम्बर ६ सम्म सक्नुपर्ने पुलको भौतिक प्रगति ४० प्रतिशत छ ।

पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सौजन्य नेपाल पछिल्लो समय कामले गति लिएको बताउनुहुन्छ । राजमार्ग विस्तारमा ढिलाइ हुँदा पोखराको आर्थिक गतिविधिसहित गण्डकी प्रदेशमै प्रभाव पर्ने परेको छ । पछिल्लो समय सडक सहज हुँदै जाँदा यहाँको विकास र समृद्धि हुने कुरामा आशा जागेको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसीले बताउनुभयो । अरू क्षेत्रमा बाटो विस्तार तीव्र गतिमा भए पनि पोखरा महानगर क्षेत्रमा भने ढिलो गरी काम सुरु भएको थियो । तनहुँको कोत्रेदेखि पृथ्वीचोकसम्म करिब २० किमी राजमार्ग पोखरा महानगरमा पर्छ । महानगर क्षेत्रमा अहिले काम जारी छ । अध्यक्ष केसी महानगर क्षेत्रमै सडक विस्तार ढिलो हुँदा सकस भएको बताउनुहुन्छ । महानगरभित्र खानेपानीका पाइप व्यवस्थापन, बिजुली पोल व्यवस्थापन, मापदण्डका संरचना हटाउन ढिलाइ हुँदा काम ढिलो भएको हो । खानेपानी, बिजुली र भौतिक संरचनाको अवरोध हटेको र निर्माण व्यवसायीले पूर्ण क्षमतमा काम गरिरहेकाले आगामी वर्षभित्रै काम सकिने आयोजना प्रमुख राजेन्द्रप्रसाद पौडेल बताउनुहुन्छ ।

सतहत्तर प्रतिशत काम

योजनाको पूर्वी खण्डको काम पछिल्लो क्रममा धमाधम भइरहेको छ । यो खण्डको भौतिक प्रगति ७७.७ प्रतिशत छ । यो माघ महिनासम्मको प्रगति हो । पूर्वी खण्डमा ३४.५ किलोमिटरमा चार लेन र ३.१ किमीमा दुई लेनमा प्रथम तहको कोलोपत्रे भइसकेको छ । पूर्वी खण्डका सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले १५.५ किमीमा चार लेन र १२.७३ किमी दुई लेनमा दोस्रो तहको कालोपत्रे सकिएको जानकारी दिनुभयो । पूर्वी खण्ड ४१.४५ किमी छ । दमौली बजार क्षेत्रबाहेक अन्यत्र एकतर्फी कालोपत्रे हुन बाँकी छैन । पाण्डेले भन्नुभयो, “यही आर्थिक वर्षभित्र पूर्वी खण्डको काम सकिने देखिन्छ ।” 

यो खण्डमा बन्ने १७ पुलमध्ये १६ पुल बनिसकेका छन् । नालामा एउटा पुलको काम जारी छ । मादी पुल भने छुट्टै ठेक्कामा लगाइएको हो । यसको भौतिक प्रगति ६० प्रतिशत छ । २०७८ वैशाखदेखि चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको यो खण्डमा तनहुँको दमौली र डुम्रे बजारमा छ लेन र बाँकी खण्डमा चार लेनको सडक बन्दै छ । कम्पनीले छ अर्ब २१ करोड ३१ लाखमा यो खण्डको ठेक्का लिएको हो ।