• ९ फागुन २०८१, शुक्रबार

छोरा नजन्मिँदा नागरिकताबाट वञ्चित

blog

नागरिकताबाट वञ्चित बेचनी देवी । तस्बिर : सुधा देव

सुधा देव 

भारदह (सप्तरी), फागुन ७ गते । सप्तरीको राजविराज नगरपालिका–९ का ६० वर्षीय बेचनी दास अहिलेसम्म नागरिकताबाट वञ्चित हुनुहुन्छ । दुई छोरीकी आमा आफूबाट छोरा नजन्मिएका कारण अहिलेसम्म नागरिकताबाट वञ्चित हुनु परेको उहाँको दुःखेसो छ । उहाँको ४० वर्षअघि मुसहरू दाससँग सामाजिक परम्परा अनुसार मागीविवाह भएको थियोे  । उहाँबाट दुई छोरी मात्र जन्मिएपछि श्रीमान्ले हेला गरेर अर्की श्रीमती ल्याउनुभयो र अहिलेसम्म नागरिकता बनाइदिनु भएन । 

कान्छी छोरी जन्मेलगत्तै विवाह भएको चार वर्षपछि उहाँको श्रीमान्ले अर्की श्रीमती भिœयाउनुभएको हो । कान्छीबाट दुई भाइ छोरा जन्मेपछि तेरो छोरा छैन, तँ छोरीकी आमालाई नागरिकताको के काम भन्दै श्रीमान्ले नागरिकता बनाइदिन नमानेको उहाँको दुःखेसो छ । अर्को विवाह गरेपछि खान, लगाउन र बस्नसमेत नदिएको र नागरिकतासमेतबाट वञ्चित भएको उहाँले बताउनुभयो । 

छोरीहरूको जन्मदर्ता र नागरिकता बनाइदिए पनि आफ्नो भने बनाइदिन नमानेको उहाँको आरोप छ । उहाँले भन्नुभयो, “छोरीहरूको बल्लतल्ल जन्मदर्ता र नागरिकता बनाइदिनुभयो । जन्मदर्ता र नागरिकता बनाइदिए पनि छोरीहरूको कुनै जिम्मेवारी पूरा गर्नु भएन । विवाह पनि चन्दा उठाएर गरेकी हुँ ।” दुवै छोरीबाट पाँच नातिनातिनी रहेको उहाँले जानकारी दिनुभयो । नागरिकता नभएकै कारण उहाँले राज्यबाट पाउनुपर्ने सेवासुविधाबाट समेत वञ्चित हुनुभएको छ ।

सप्तरीको महादेवा गाउँपालिका–५ का २५ वर्षीय फूलकुमारी मण्डल पनि नागरिकताबाट वञ्चित हुनुहुन्छ । उहाँको पाँच वर्षअघि विवाह भएको थियोे । एक छोरीकी आमा उहाँ नागरिकता र छोरीको जन्मदर्ताबाट वञ्चित रहेको बताउनुभयो । श्रीमान् हाल वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा हुनुहुन्छ । आफ्नो नागरिकता र छोरीको जन्मदर्ता बनाइदिन भन्दा कुरै नसुन्ने गरेको फूलकुमारीको भनाइ छ । 

महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष अनिता देवकोटाले बहुविवाह, श्रीमान्ले छोडेको, एकल महिला तथा अन्य कारणले सप्तरी जिल्लासहित मधेशका जिल्लामा अहिले पनि धेरै महिला नागरिकताबाट वञ्चित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “श्रीमान्सँग सम्बन्ध राम्रो भएको बेला महिलाले जन्मदर्ता र नागरिकताको विषयमा वास्ता गर्दैनन् ।” विभिन्न कारणले पछि श्रीमान्सँग सम्बन्ध बिग्रिएपछि नागरिकता तथा बच्चाको जन्मदर्ताको समस्या लिएर संस्थामा आउने गरेको जानकारी उहाँले दिनुभयो ।