• ९ फागुन २०८१, शुक्रबार

चौदण्डीले अतिक्रमित जग्गा खाली गराउँदै

blog

स्थानीयद्वारा अतिक्रमित सरकारी जग्गा एक्साभेटर लगाएर खाली गराउँदै चौदण्डीगढी नगरपालिका । तस्बिर : भक्तिविलास पोखरेल

भक्तिविलास पोखरेल 

बेलटार (उदयपुर), फागुन ७ गते  । लामो समयदेखि स्थानीयले अतिक्रमण गर्दै आएका उदयपुरको चौदण्डीगढी नगरपालिका क्षेत्रको सरकारी तथा नदी उकास जग्गा स्थानीय सरकारले खाली गराउन थालेको छ । जग्गा खाली गराउनुपूर्व सुरुमा ३५ दिनको, त्यसपछि १५ दिनको र अन्तिममा सात दिनको सूचना जारी गरेर जग्गा खाली गर्न आह्वान गर्दा पनि अटेर गरेपछि चौदण्डीगढी नगरपालिकाले एक्साभेटर लगाएर जग्गा खाली गराउन सुरु गरेको हो ।

नगरपालिकाले बेल्टार बजार क्षेत्रमा पर्ने नदी उकास जग्गा विभिन्न व्यक्तिले अतिक्रमण गरी निर्माण गरेका घरटहरा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीसहितको टोलीमार्फत एक्साभेटर लगाएर हटाएको हो । नगरको वडा नम्बर ७ स्थित बाख्रा बजार क्षेत्रमा स्थानीयले निर्माण गरेका ३८ वटा बङ्गुरका खोर, १५ वटा बाख्राका खोर, दाउरा राख्ने कटेरो दुई वटा, भान्साघर दुई वटा, कच्ची शौचालय सात वटा, अस्थायी टहरा र एउटा खुकुरी उद्योगसहित केही कुखुराका खोर हटाइएको नगरपालिकाका भूमि शाखा प्रमुख यज्ञ श्रेष्ठले बताउनुभयो ।

सरकारी जग्गा संरक्षण गर्नु स्थानीय सरकारको प्रमुख दायित्व भएकाले बजार क्षेत्रमा रहेका ऐलानी, पर्ती जग्गा र नदी उकास जग्गाभित्र स्थानीयले विभिन्न समयमा अतिव्रmमण गरी निर्माण गरेका संरचना हटाउन थालिएको चौदण्डीगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितबहादुर श्रेष्ठले बताउनुभयो । 

नगरपालिकाले आफ्ना नागरिकलाई २०८२ सालभित्र सेतो लालपुर्जा भए पनि उपलब्ध गराउने गरी स्थानीय ऐन बनाउन सुरु गरेको छ । वास्तविक पीडामा रहेका सुकुमवासीलाई सके रातो लालपुर्जा नभए पनि नापनक्सा तयार पारी फिल्ड बुक उतारेर जग्गाको भोगचलनको निस्सास्वरूप सेतो पुर्जा वितरणको तयारी गरेको नगरप्रमुख कालुमान लामाले बताउनुभयो ।