नेपालगन्ज समाचारदाता
नेपालगन्ज, फागुन ६ गते । बाँकेमा पछिल्लो समय मानिसमाथि वन्यजन्तुको आक्रमण बढेपछि उनीहरूको विचरणका बारेमा अनुसन्धानका लागि वनजङ्गल आसपासका क्षेत्रमा बाघ तथा आहारा प्रजातिका वन्यजन्तुको अध्ययन अनुगमन सुरु गरिएको छ । डिभिजन वन कार्यालय बाँकेको आयोजना तथा बाँके राष्ट्रिय निकुञ्जको सहजीकरण र जियोलोजिकल सोसाइटी अफ लन्डनको प्राविधिक सहयोगमा जिल्लामा बाघ र आहारा प्रजातिको अध्ययन सुरु गरिएको हो ।
डिभिजन वन कार्यालय बाँकेका वरिष्ठ वन अधिकृत बाबुराम पोख्रेलले यो अध्ययन अनुगमन विशेष गरी बाघको सङ्ख्या र बाघको घनत्व कति छ ? भन्ने कुरा पत्ता लगाउनका लागि गरिएको जनाउँदै यसमा बाघ मात्र नभई आहारा प्रजाति पनि के कति छन् ? भन्ने विषयमा समेत अध्ययन हुने बताउनुभयो । उहाँका अनुसार क्यामरा ट्रयापिङ विधिबाट बाघ ओहोरदोहोर गर्ने बाटोमा स्वचालित क्यामरा राखेर तस्बिर सङ्कलन गरिने छ । यसका लागि निश्चित ग्रिड बनाएर त्यसभित्र पनि बढी आउजाउ गर्ने स्थान पत्ता लगाएर ९५ वटा स्थानमा ९५ वटा क्यामरा जडान गरिएका छन् ।
जियोलोजिकल सोसाइटी अफ लन्डनका कार्यक्रम अधिकृत सञ्जय कँडेलका अनुसार क्यामरा ट्रयापिङले त्यो क्षेत्रमा बाघले विचरण गरेको छ वा छैन भन्ने कुरा पत्ता लाग्ने छ । विशेष गरेर जैविक मार्ग भनेको आफैँमा वन्यजन्तु राख्नेभन्दा पनि वरपरका वन्यजन्तुलाई आवतजावत गराउन सक्षम छन् कि छैनन् भन्ने विषय महìवपूर्ण हुने भएकाले ती बाघ तथा अन्य वन्यजन्तु कताबाट विचरण गरेका छन् भन्ने क्यामराबाट देखिने छ ।
डिभिजन वन कार्यालय बाँकेका अनुसार अहिले बाघ तथा आहारा प्रजातिको अनुगमनमा कम्दी कोरिडोर र आसपासको करिब ३५ हजार हेक्टर क्षेत्रफलमा ९५ वटा ग्रेडमा स्वचालित क्यामरा जडान गरिएका छन् । जडान गरिएको मितिदेखि १५ दिनसम्म क्यामरा राखिने छ । अघिल्लो गणना अनुसार बाँकेमा बाघको सङ्ख्या २५ र आहारा प्रजातिको घनत्व प्रतिवर्ग किलोमिटर ३३ वटा रहेको पाइएको डिभिजन वन कार्यालयले जनाएको छ ।
वन्यजन्तुको आक्रमणबाट गत माघ ९ गते बाँके राप्तीसोनारी गाउँपालिका–८, ओभरीकी ६७ वर्षीय चेती बुढाथोकीको मृत्यु भएको थियो । उक्त आक्रमण बाघ वा अन्य कुन वन्यजन्तुबाट भएको हो भन्ने अहिलेसम्म खुलेको छैन ।