गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन ६ गते । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले संसद्को सार्वजनिक लेखा समितिको निर्देशनका कारण जलविद्युत् आयोजनाको प्राथमिक सेयर निष्कासन प्रभावित भएको जनाएको छ ।
लेखाको निर्देशनविरुद्ध निरन्तर पैरवीमा लागेको इप्पानले सोमबार नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई भेटेर आइपिओ तथा हकप्रद सेयरको सार्वजनिक निष्कासन रोकिएको विषयमा घिमिरेको ध्यानाकर्षण गराएको हो ।
इप्पानका अध्यक्ष गणेश कार्कीले लेखा समितिले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई निर्देशन दिएको आरोप लगाउनुभयो । उहाँले ४२ कम्पनीको आइपिओ र ३० भन्दा बढी कम्पनीको हकप्रद सेयर गरी ५० अर्ब रुपियाँभन्दा बढीको सार्वजनिक निष्कासन रोकिएको दाबी गर्नुभयो ।
इप्पानका उपमहासचिव प्रकाश दुलालले लेखा समितिले निर्देशनमा भनेको रियल नेटवर्थ भन्ने शब्दावली संसारभरको लेखा प्रणालीमा कतै पनि प्रयोगमा नरहेको दाबी गर्नुभयो । लेखा समितिले आइपिओ जारी गर्नका लागि ९० प्रतिशत रियल नेटवर्थ हुनुपर्ने निर्देशन दिएको छ । दुलालका अनुसार सेबोनमा निवेदन दिएका ४२ कम्पनीमध्ये चार वटा कम्पनीबाहेक सबैको नेटवर्थ ९० भन्दा बढी छ तर रियल नेटवर्थ भन्ने शब्दमा अड्किएर अर्बौंको सेयर निष्कासन प्रक्रिया रोकेर विद्युत् आयोजना विकास अवरुद्ध पारिएको उहाँको भनाइ छ ।