• २८ फागुन २०८१, बुधबार

अन्नबालीभन्दा सुन्तला खेतीले फाइदा

blog

गौमूल गाउँपालिका–४, विजयढुङ्गाका किसान पारू रोकायाले गाउँमै उत्पादन गरेको सुन्तला । तस्बिर : शेरबहादुर सार्की

बाजुरा समाचारदाता

बाजुरा, फागुन ६ गते । बाजुराका गौमूल गाउँपालिका–४, विजयढुङ्गाकी पारू रोकायाले सुन्तला खेतीबाट राम्रो कमाइ गर्दै आउनुभएको छ । गाउँमा सधैँ अन्नबाली लगाएको जमिनमा पछिल्लो समय उहाँले सुन्तला खेती गर्न सुरु गरेपछि अहिले राम्रो कमाइ गर्न थाल्नुभएको हो ।

गाउँमा अन्नबालीभन्दा सुन्तला खेतीले राम्रो कमाइ हुन थालेको गौमूल गाउँपालिका–४, विजय ढुङ्गाकी किसान पारू रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला गाउँमा भएको जमिनमा अन्नबाली लगाउने गरेको थिएँ । त्यसबाट पेट पाल्नै सकस भएको थियो ।” अहिले सुन्ताल बिक्री गरेर वार्षिक दुई/चार लाख आम्दानी हुन थालेपछि घरपरिवार सुखले पालिने गरेको रोकायाले बताउनुभयो ।

रोकायाले २०७४ सालमा झन्डै पाँच रोपनी जमिनमा सुन्तला खेती गर्नुभएको थियो । गाउँमा रहेको पाखो जमिनमा राम्रो खेती नहुने भएपछि उहाँले त्यो जमिनमा सुन्तला खेती सुरु गर्नुभएको हो । 

गौमूल गाउँपालिकाले एक सय र अन्य नौ सय बोट आफैँले खरिद गरेर पाँच रोपनीमा झन्डै एक हजार सुन्तलाको बोट लगाउनुभएको थियो । बारीमा लगाएका सबै सुन्ताल अहिले लटरम्म फल्ने गरेका छन् । अन्नबालीभन्दा सुन्तला खेतीले राम्रो कमाइ गर्न सकिने उद्देश्यले रोकायाले केही वर्ष पहिला यहाँको पाँच रोपनी पाखो जमिनमा सुन्तला खेती सुरु गर्नुभएको हो । 

भोको पेट पाल्नका लागि सबै भारतमा कामको खोजीमा जाने गरेका उहाँका श्रीमान् अहिले सुन्तला बिक्रीमा व्यस्त हुनुभएको छ । सुन्तला खेतीले अहिले उहाँले छोराछोरीलाई समेत राम्रो शिक्षादीक्षा दिँदै आउनुभएको छ । पहिलो पटक परीक्षणका लागि रोपेका सुन्तलाले राम्रो कमाइ हुन थालेपछि अहिले उहाँले गाउँमा रहेको अन्य बाँझो जमिनमा समेत सुन्तला खेती गर्ने तयारी भएको रोकायाले बताउनुभयो ।

पछिल्लो समय यहाँको हिमाली, स्वामीकार्तिक, जगन्नाथ, बुढीनन्दा, बडीमालिका, गौमूल, त्रिवेणी, बुढीगङ्गा, त्रिवेणी र छेडेदहलगायतका पालिकामा सुन्तला उत्पादन हुने गरेको छ । यसरी बाजुरामा उत्पादन गरेको सुन्तला बजारीकरण गर्नका लागि कृषि ज्ञान केन्द्र बाजुराले ढुवानी अनुदानको व्यवस्था मिलाउँदै आएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।