• ९ फागुन २०८१, शुक्रबार

गायक चौधरी सिङ्गर अफ द इअरबाट सम्मानित

blog

गायक रत्नदिप चौधरी सम्मानित हुँदै ।

गोरखापत्र अनलाइन

सुनसरी, फागुन ५ गते । थारू भाषाको गीत “ए हौँ साली झुम्कावाली, तोहर खातिर छै दिल हमर खाली” यस गीतका गायक रत्नदिप चौधरी सिङ्गर अफ द इअर २०२५ बाट सम्मानित हुनुभएको छ ।  अपन स्वर्ग नेपाल कला संस्कृति बहुभाषिक चलचित्र महासङ्घ केन्द्रीय कार्यालय सुनसरी नेपालको आयोजनामा इनरुवामा आयोजित एएसएन इन्टरनेसनल अवार्ड २०२५ बाट सम्मानित हुनुभएको हो । 

गायक चौधरीले ११ वर्षको उमेरमा गाएको गीत “ए हौँ साली झुम्कावाली, किन्देवौ पुनम सारी” चर्चित गीत हुन् । एक समयमा सबैको मुखमा झुन्डिने गीत अहिले चर्चित नै रहेको छ । चर्चित गीतको मुल्याङ्कनसहित गायक चौधरीलाई सिङ्गर अफ दी इअर २०२५ ले सम्मानित गरेका छन् ।

यस सम्मानले सङ्गीत क्षेत्रमा थप प्रोत्साहित भएको र आगामी दिनमा सङ्गीतमै रमाउने र थारू भाषा गीत सङ्गीतलाई योगदान गरिरहने गायक चौधरीले प्रतिबद्धता गरेका छन् । यसै प्रतिबद्धतासहित नयाँ गीतलाई पूर्णता दिएको छ । थारू भाषामा उहाँको आफनै शब्द, सङ्गीत र स्वरमा नयाँ गीत सार्वजनिक गर्ने तयारीमा छन् । थारू भाषा सङ्गीतमा रहेको गीत “हे गै नथिया बालि तोरा ल्याजेबौँ हम, तोरा ल्याजेबौँ हम” बोलको गीत सार्वजानिक गर्ने तयारीमा छन् ।

गढी गाउँपालिका–१ मधैली निवासी गायक चौधरी सामान्य परिवारमा जन्मिएका हुन् । २०५५ सालमा १० वर्षको उमेर देखिनै सङ्गीत क्षेत्रमा रुचि राख्दै गीत गाउन उहाँले सुरुवात गर्नुभएको थियो । गायक चौधरी यस सङ्गीत क्षेत्रमा आबद्ध भएर गीत गाउँदै शस्त्र प्रहरी पेसा अङ्गाल्नुभयो । शस्त्र प्रहरीमा कार्यरत रहँदा २०७२ सालमा शस्त्र प्रहरीको प्रधान कार्यालय सांस्कृतिक तथा वाद्यवाद्यन गुल्ममा काम गर्नुभयो । शस्त्र प्रहरीको छुटै रहेको साङ्गीतिक क्षेत्रमा कार्यरत गायक चौधरी विभिन्न साङ्गीतिक महोत्सवमा सहभागी र मनोरञ्जन गराउँदै देशको रक्षा, सुरक्षाका लागि अलर्ट रहने गरेको छ ।

गीत सङ्गितसँगै देश र जनताको सुरक्षामा रुचि राख्ने चौधरी सङ्गीत क्षेत्रलाई भवसागरको रूपमा बुझेको भनाइ राख्नुभयो । सङ्गीत शिक्षाको क्षेत्रमा गायक चौधरीले स्नातकोत्तर तहसम्मको शिक्षा आर्जन गर्नुभएको छ । ललितकला क्याम्पसबाट एमए उत्तीर्ण गरेका गायक चौधरीले थारू भाषा सङ्गीतका लागि थप अग्रसर हुने जानकारी दिनुभयो ।