• १५ असार २०८१, शनिबार

गुणस्तरीय बीउ समयमै उपलब्ध गराउन किसिनको माग

blog

सिराज खान
नेपालगञ्ज, जेठ १५ गते ।
बाँके जिल्लाका  किसानहरूले गुणस्तरीय बीउबिजन समयमै उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

समयमा गुणस्तरीय बीउ नपाउँदा खेतीमा समस्या हुने गरेको गुनासो गर्दै जिल्लाका अधिकांश किसानले धान तथा मकै जस्ता खाद्यान्न बाली लगाउने समय नजिकिएकोले समयमै सहजरुपमा बीउ उपलब्ध गराउने वातावरण मिलाउन सरकारसँग आग्रह गरेका हुन् ।

गतवर्ष परेको बेमौसमको वर्षाले गर्दा ठूलो हानि व्यहोरेका जिल्लाका धान लगाउने अधिकांश किसानले बीउ जोहो गर्न नसकेकोले बाध्य भएर सरकारले दिने बीउको भरमा बस्नुपरेको गुनासो खजुराका किसान जीवन थापाले बताउनुभयो ।

धानको बीउ राख्ने बेला खेतमै धान पानीमा डुबेकाले यो पटक कसरी खेती गर्ने भन्ने चिन्ता बढेको जनाउनुहुँदै थापाले छिटो बीउबिजन वितरण गर्नुपर्ने माग गर्नुभयो ।

यस्तै, बैजनाथ गाउँपालिकाका किसान नरेश चौधरीले गाउँमा गुणस्तरीय बीउ नपाउने हुँदा बजारमा गएर बीउ ल्याउनुपर्ने बाध्यता रहेको सुनाउँदै सरकारले समयमै उपलब्ध गराए सहज हुने बताउनुभयो ।

त्यस्तै, राप्तीसोनारी गाउँपालिकाका किसान रामभजन चौधरीले धानको बीउ राख्न खेत तयार गर्दैहुनुहुन्छ । तर, घरमा सधैं राख्ने गरेको धानको बीउ उहाँसँग छैन ।

सोही कारणले नेपालगञ्जसम्म बीउ लिन जानुपर्ने उहाँलगायत अधिकांश किसानको बाध्यता छ । गाउँमै गुणस्तरीय बीउ पाउन नसक्दा बजार गएर ल्याउनुपर्ने बाध्यता रहेको चौधरीले बताउनुभयो ।

स्थानीय सरकारले धानको क्षतीको राहत दिन नसकेपनि गुणस्तरीय बीउ भने समयमै उपलब्ध गराउन सके धेरे राहात हुने जिल्लाका अधिकांश किसानको माग छ ।

समयमा बीउ नपाउने हो भने यसपटक उत्पादन राम्रो गर्न नसकिने र खाद्य सङ्कटको सामना गर्नुपर्ने डुडुवा कम्दीका किसान रामबाबु यादवको भनाइ छ ।

मकै लगाउन तयार रहेका जानकी गाउँपालिकाका सुनिल बर्मालाई पनि बीउको अभाव छ । उहाँले बीउको लागि भरपर्दो माध्यमको खाँचो रहेको गुनासो गर्दै यो समस्या स्थानीय सरकारले समयमै समाधान गर्नुपर्नेमा जोड दिनुहुन्छ ।

सोही कारणले जिल्लाका अधिकांश किसानले सरकारलाई समयमै बीउबिजन उपलब्ध गराउन माग गरेका छन् ।