• ७ वैशाख २०८२, आइतबार

दुधको रकम भुक्तानी गर्न प्रधानमन्त्रीको निर्देशन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन ५ गते ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कृषकलाई दुधको भुक्तानी गर्न बाँकी रहेको रकम यथाशीघ्र भुक्तानी गर्न निजी डेरी उद्योगहरूलाई निर्देशन दिनुभएको छ । प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको आइतबार जवाफ दिँदै प्रधानमन्त्री ओलीले दुधको बक्यौता रकम तत्काल भुक्तानी दिन निर्देशन दिएको बताउनुभएको हो । 

दुग्ध विकास संस्थान (डिडिसी) ले हालसम्म दुई अर्ब चार करोड रुपियाँ भुक्तानी दिइसकेको प्रधानमन्त्रीले जानकारी दिनुभयो । दुग्ध विकास संस्थानबाट दुध बिक्री गर्ने सबै कृषकको भदौ मसान्तसम्मको बाँकी रकम भुक्तानी भइसकेको र बाँकी रकम पनि क्रमशः भुक्तानीको प्रक्रियाका लागि अघि बढाइएकोसमेत प्रधानमन्त्रीले जानकारी दिनुभयो । 

डिडिसी र निजी क्षेत्रका डेरी उद्योगहरूले देशभरका किसानलाई अझै दुई अर्ब ५५ करोड ५० लाख रुपियाँ भुक्तानी गर्न बाँकी रहेको छ । यसमध्ये सबैभन्दा बढी निजी क्षेत्रको रकम रहेको छ । निजी डेरीको मात्रै एक अर्ब ६० करोड रुपियाँको हाराहारीमा भुक्तानी गर्न बाँकी रहेको बताइएको छ ।

नेपाल डेरी उद्योग सङ्घका अध्यक्ष राजकुमार दाहालले निजी डेरीसँग डेढ अर्ब रुपियाँ किसानको रकम भुक्तानी गर्न बाँकी रहेको बताउनुभयो । दुग्ध उद्योगसँग गत वर्षकै धुलो दुध र घिउ बिक्री नभई ठुलो परिमाणमा मौज्दात रहेकाले पनि किसानको दुधको रकम नियमित रूपमा भुक्तानी गर्न नसकिएको जानकारी उहाँले दिनुभयो । 

सङ्घका अनुसार निजी डेरीसँग एक अर्ब रुपियाँको घिउ र एक अर्ब रुपियाँ बराबरको धुलो दुध बाँकी छ । बजारमा प्रशोधित दुधको प्रयोग हुँदा घिउ र धुलो दुधको माग नहुँदा ठुलो परिमाणमा मौज्दात रहेको दाहालले जानकारी दिनुभयो । 

नेपाल डेरी एसोसिएसनले भने किसानको दुधको रकम भुक्तानी गरिसकेको जनाएको छ । निजी क्षेत्रले लामो समयदेखि विभिन्न जिल्लाका किसानलाई भुक्तानी गरेको छैन । 

सङ्घका अनुसार निजीमध्ये सबैभन्दा बढी पोखरास्थित सुजल डेरी प्राइभेट लिमिटेडले किसानलाई भुक्तानी गर्न बाँकी छ ।  यस्तै निजी क्षेत्रबाटै सञ्चालनमा रहेको नेपाल डेरी, राजधानी डेरी, खरिपाटी डेरीलगायतका दुई दर्जन डेरी उद्योगले पनि किसानलाई भुक्तानी गर्न बाँकी छ । यस्तै डिडिसीले गत भदौदेखि माघ १५ सम्मको किसानबाट दुध खरिद गरेबापत ९५ करोड ५० लाख रुपियाँ भुक्तानी गर्न बाँकी छ । 

यस्तै निजी क्षेत्रका अन्य सानो क्षमताका साना डेरीहरूले ५० करोड रुपियाँको हाराहारीमा भुक्तानी गर्न बाँकी रहेको बताइएको छ । 

लामो समयदेखि दुधको रकम भुक्तानी नहुँदा किसान मारमा परेका छन् । केन्द्रीय दुग्ध सहकारी संस्थाका महासचिव राम आचार्यले छ महिनादेखि दुधको रकम नपाउँदा व्यवसाय सञ्चालन गर्न कठिन भएको जानकारी दिनुभयो । 

दुधको रकम भुक्तानीका लागि अर्थमन्त्री विष्णु पौडेल र कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीलाई भेटेर दुधको भुक्तानी दिन अनुरोध गरे पनि त्यसको सुनुवाइ नभएको उहाँले जानकारी दिनुभयो । विभिन्न ३० वटा जिल्लाका किसानको दुई अर्ब रुपियाँभन्दा बढी रकम भुक्तानी बाँकी रहेकाले व्यवसाय सञ्चालन गर्न कठिन भएको उहाँले जानकारी दिनुभयो । 

दुध बिक्री गरेको पैसाले पशुलाई दाना खरिद गर्नुका साथै घरखर्च चलाउँदै आएकोमा लामो समयदेखि रकम नपाउँदा धेरै समस्या परेको उहाँले जानकारी दिनुभयो । किसानले नियमित रूपमा दुध बिक्री गरेको पैसा नपाउँदा व्यवसायबाट पलायन हुने अवस्था आएको उहाँको भनाइ छ ।   

सोही क्रममा प्रधानमन्त्री ओलीले उखु किसानले आफ्नो उत्पादनको उचित मूल्य पाऊन् भन्ने उद्देश्यले उखु क्रसिङ हुनुपूर्व नै सरकारले उखुको खरिद मूल्य तोक्ने गरेको बताउनुभयो । त्यसरी निर्धारण गरिएको खरिद मूल्यमा किसानबाट उखु खरिद गरी तुरुन्तै भुक्तानी दिन पनि निर्देशन दिइसकेको उहाँले जानकारी दिनुभयो । मङ्सिरमै सरकारले प्रतिक्विन्टल उखुको खरिद मूल्य ५८५ रुपियाँ तोकेको पनि उहाँले जानकारी दिनुभयो ।