सन्तोष दहित
दाङ, फागुन ४ गते । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सोमबार दाङ आउनुहुने भएको छ । एमाले दाङले घोराहीको सहिद मञ्चमा आयोजना गर्ने जनसभलाई सम्बोधन गर्न उहाँ दाङ आउन लाग्नुभएको हो ।
प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने जनसभाको तयारी पूरा भएको एमाले दाङले जनाएको छ । पार्टी अध्यक्षले सम्बोधन गर्ने जनसभाको तयारी पूरा भएको नेकपा (एमाले) दाङका अध्यक्ष शिवकुमार आचार्यले जानकारी दिनुभयो । मञ्च व्यवस्थापन, जुलुस व्यवस्थापन तथा स्वयंसेवक परिचालनसँगै प्रचार प्रसारका सम्पूर्ण तयारी पूरा भएको उहाँले बताउनुभयो । सभामा करिब ५० हजारको उपस्थिति गराउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
सोमबार १२ बजेदेखि घोराही बजारको चार ठाउँबाट विभिन्न बाजागाजासहित जुलेशले बजार परिक्रमा गर्ने कार्यक्रम रहेको आचार्यले बताउनुभयो । प्रधानमन्त्री दाङ आउने भएपछि दंगाली जनता उत्साहित भएको उहाँको भनाइ छ । प्रधानमन्त्रीको स्वागतका लागि घोराही बजारलाई सूर्य अंकित झण्डाले रंगीन बनाइएको उहाँले बताउनुभयो । प्रधानमन्त्री ओली आउनुहुने भएपछि कार्यक्रमस्थल एव जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइको दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताउनुभयो ।