• २८ फागुन २०८१, बुधबार

बजारमा म्याद गुज्रिएका सामान

blog

जफत गरिएको म्याद गुज्रिएका सामग्री नष्ट गरिँदै ।

राजकुमार भट्टराई 

खोटाङ, फागुन ४ गते । खोटाङको हलेसी बजारमा सञ्चालित पसलमा अत्यधिक मात्रामा म्याद गुज्रिएका अखाद्य सामग्री भेटिएका छन् । बजार अनुगमनको क्रममा दैनिक उपभोग्य सामग्रीहरु अत्यधिक मात्रामा म्याद गुज्रिएको भेटिएको हो । 

पेप्सी, ड्यु, कोकोकोला, मिरिन्डा, फ्यान्टा, स्प्राइट, सेभेनअप लगायतका पेय पदार्थहरु धेरै म्याद गुज्रिएको भेटिएको छ । हलेसी तुवाचुङ नगरपालिका –७ हलेसी बजारमा सञ्चालित खाद्यान्न सामग्री बिक्रेता पसल, होटल साथै अन्य पसलमा अनुगमन गर्दा करिब डेढ लाख बराबरको अखाद्य सामग्री जफत गरेर नष्ट गरिएको हो । 

जिल्ला प्रशासन कार्यालय, हलेसी तुवाचुङ नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, इलाका प्रहरी कार्यालय हलेसीलगायतको उपस्थितिमा बजार अनुगमनको क्रममा भेटिएका म्याद गुज्रिएको तथा अखाद्य वस्तुहरु जफत गरेर नष्ट गरेको बताइएको छ । 

अनुगमनको क्रममा १ लाख ४४ हजार ८७१ रुपियाँ बराबरको म्याद गुज्रिएको सामग्री भेटिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख भेषराज खत्रीले बताउनुभयो । उक्त सामान जफत गरेर जलाएर नष्ट गरिएको उहाँको भनाइ छ ।

पेय पदार्थसँगै चोखोपाइ, बिस्कुट, भुजा, चामल, सस, आँटा, सोयाबिन, चिकेन मसला, पापड, मटर दाना, हर्लिक्स, स्याम्पु, फ्रुटी, चकलेट, चियापत्ती, चिजबल, पानीपुरी, चिप्स, तेल, मसलालगायतका वस्तुहरु म्याद गुज्रेको भेटिएको खत्रीले बताउनुभयो । 

बजार अनुगमनमा हलेसी तुवाचुङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत वसन्त गिरी, निमित्त प्रमुख जिल्ला अधिकारी हीराधन राई, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख भेषराज खत्री, इलाका प्रहरी कार्यालय हलेसीका प्रमुख प्रहरी निरीक्षक हेमन्त राईलगायतको उपस्थिति थियो ।