• २८ फागुन २०८१, बुधबार

ग्राहकको आकर्षण बन्दै गोबरबाट बनेका सामग्री

blog

गोबरबाट बनाइएका सामग्री । तस्बिरः हरिप्रसाद कोइराला

हरिप्रसाद कोइराला 

उर्लाबारी, फागुन ४ गते । मोरङको सुन्दरहरैँचा –१० स्थित विराटचोकमा सञ्चालन भइरहेको सुन्दरहरैँचा विराट एक्स्पोमा गाईको गोबरबाट निर्मित पूजा सामग्रीमा अवलोकनकर्ताको ध्यान खिचिएको छ । 

विराटनगर–५ जामुनगाछीमा रहेको उन्नत गोठ प्रालिले एक्स्पोमा गोबरबाट निर्मित पूजा सामग्रीको सानो स्टल राखेको छ । स्टलमा उद्योगका सञ्चालक बेविना दाहालले गाईको गोबरबाट बनेका पूजा सामग्रीदेखि घरायसी प्रयोगका सामानका बारेमा अवलोकनकर्ताको जिज्ञासा मेटाइरहनु भएको छ । 

विराटनगर एक्स्पोमा राम्रो व्यापार भएपछि दाहालले विराटचोकमा पनि आफ्नो उत्पादनको प्रदर्शनी तथा बिक्री स्टल राख्नु भएको हो । दाहालको उद्योगले गोबरबाट दियो, कलश, विभिन्न प्रकारका मूर्ति, फूलहरू, दियो स्टेन्ड, विष्णुको पाउलगायत सय बढी सामग्री उत्पादन गरिरहेको छ । सस्तो मूल्यमा खरिद गर्न सकिने  सामग्रीहरू वातावरणमैत्री रहेको दाहालको भनाइ छ । 

दूध दिन छाडेका गाईहरूको संरक्षण गरी तिनीहरूले दिने गोबरबाट पूजा सामग्री निर्माण गरिरहेको दाहालले बताउनुभयो । दाहालले हाल दस जना महिलालाई उद्योगमा रोजगार दिइरहनु भएको छ । सुरुवाती चरणमा सात लाख रुपियाँ लगानी गरी उद्योग सञ्चालनमा ल्याउनु भएकी दाहालले विराटनगरमा सञ्चालन भएको एक्स्पोमा आफ्नो उत्पादन पहिलो पटक राख्नु भएको थियो । 

दाहालले भन्नुभयो, “त्यो प्रदर्शनीमा अवलोकनकर्ताको राम्रो साथ पायौं । व्यापार राम्रो भयो । त्यसपछि विराटचोकमा पनि ल्याएका हौं । पहिले कपडा व्यापार र त्यसपछि बैँकमा जागिरे बन्नु भएकी दाहाल हाल आफैँ केही गर्नुपर्छ भन्ने ध्येयले उन्नत गोठ प्रालि सञ्चालन गरिरहनु भएको छ । 

दाहालले भन्नुभयो, “यो उद्योगले घरका कामकाजी आमालाई काम दिएको छ । दूध दिन छाडेका गाईले खान पाएका छन् । ती गाईको संरक्षण भएको छ । देशैभर रहेका गौशालामा यस्ता उद्योग सञ्चालन गर्न सकिने दाहालले बताउनुभयो । माटोबाट बन्ने सबैखाले सामग्री बनाउन सकिने दाहालको भनाइ छ । 

उहाँले भन्नुभयो, “सामानहरू सस्ता छन्, त्यसैले पनि अवलोकनकर्ता हाम्रो कुरा सुनेपछि केही न केही किनेर जानुहुन्छ ।’ दाहालले उन्नत गोठ उद्योग गोबरबाट निर्माण सामग्री बनाउने नेपालकै पहिलो उद्योग भएको दाबी गर्नुभयो ।