शशिधर पराजुली
विराटनगर, फागुन ४ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र स्वीस सरकारका प्रतिनिधि बिच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा नेपालका लागि स्वीस सरकारका प्रतिनिधि ‘हेड अफ कर्पाेरेसन’ म्याथिस मेयर र सल्लाहकार नवीन वाग्लेसहितको प्रतिनिधिमण्डलबिच भेटघाट भएको हो ।
विकास साझेदार संस्थाका प्रतिनिधिसँगको भेटवार्तामा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वीस सरकारले गरेको सहयोग र सहकार्यको प्रशंसा गर्नुभएको थियो । उहाँले ७५ वर्षदेखि नेपाल र स्वीस सरकारको सम्बन्ध रहेको चर्चा गर्दै यो सम्बन्ध अझै प्रगाढ र विस्तार हुने बताउनुभयो ।
नेपालको सङ्घीयता र संविधान कार्यान्वयनका लागि गरेको सहयोग महत्त्वपूर्ण भएको मुख्यमन्त्री कार्कीले उल्लेख गर्नुभयो । उहाँले वित्तीय सङ्घीयता बलियो बनाउन स्वीस सरकारको भूमिका प्रशंसनीय रहेको चर्चा गर्नुभयो । साथै मुख्यमन्त्री कार्कीले यस कार्यमा थप सहयोगको आवश्यकता रहेको बताउनुभयो।
मुख्यमन्त्री कार्कीले राजनीतिक स्थिरता कायम भएकोले कामहरूलाई दु्रत गतिमा अगाडि बढाउने विश्वास दिलाउँदै कोशी प्रदेशमा लगानी सम्मेलन, पर्यटन सम्मेलन, पर्यटन वर्ष र चिया सम्मेलनको तयारी गरिरहेको जानकारी दिनुभयो । यी गतिविधिहरूबाट प्रदेशको आर्थिक विकासमा सकारात्मक प्रभाव पार्ने भन्दै सहकार्यका लागि आग्रह गरेका थिए ।
भेटका अवसरमा हेड अफ कोपरेसन म्याथिस मेयरले सङ्घीयता बलियो बनाउनका लागि स्वीस सरकार सहयोग गर्न तयार रहेको बताउनुभयो । प्रदेश सरकारले सात वर्ष पूरा गरेको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले सङ्घीयता कार्यान्वयनका लागि स्वीस सरकार सहयोगी बन्ने बताउनुभयो । उहाँले प्राविधिक शिक्षा र अन्य रणनीतिक परियोजनाका लागि सहयोग गर्न स्वस सरकार तयार रहेको स्पष्ट पार्नुभयो । राजस्व वृद्धि र पर्यटन प्रवर्धन गर्ने काम राम्रो भएको चर्चा गर्दै म्याथिस मेयरले यसका लागि आफ्नो सहयोग र सहकार्य रहने उल्लेख गर्नुभयो ।
स्विस सरकारले सञ्चालन गरेको परियोजना कोशी प्रदेशमा राम्रोसँग सञ्चालन भएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । दुई पक्ष भेटघाटमा कोशी प्रदेश सरकारका प्रमुख सचिव केदारनाथ शर्मा र मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव जीवन कार्की, सल्लाहकारहरू रवि खनाल, डा. मोहन सुवेदी र विक्रम लुइटेलको सहभागिता रहेको थियो ।