लमजुङ समाचारदाता
लमजुङ, फागुन ४ गते । राज्यका हरेक निर्णायक तहमा ‘महिला नै पहिला’ भन्ने आवाज उठाउँदै महिलाले लमजुङमा अनुपम यात्रा र्याली निकालेका छन् । आउँदो २०८४ को निर्वाचनमा महिला नै पहिला भन्ने उद्देश्यसाथ देशव्यापी अनुपम अभियान सञ्चालन गरिँदै आइएको छ । अनुपम अभियान अन्तर्गत शुक्रबार मध्य नेपाल नगरपालिका–२, सोतिपसलमा अनुपम यात्रा गरिएको हो ।
एकीकरण नेपाल गोरखा तथा राष्ट्रिय जनवकालत मञ्च नेपालको समन्वयमा सोतिपसलका राक्सेकालिका आमा समूह, गणेश टोल विकास समूह, महिला जागरण महिला समूह, खहरे आमा समूह, सशक्त आमा समूह, बोर्डिङ चोक आमा समूह, कल्याणकारी आमा समूह, प्रगतिशील आमा समूह, रिस्ती भ्याली सामुदायिक सिकाइ केन्द्रमा महिलाले प्लेकार्डसहित र्याली निकालेका छन् । कार्यक्रममा दुई सयभन्दा बढी महिलाको सहभागिता रहेको रिस्ती भ्याली सामुदायिक सिकाइ केन्द्र अध्यक्ष भोलानाथ पौडेलले जानकारी दिनुभयो ।
उक्त अवसरमा वडाध्यक्ष पदमबहादुर थापा, वडा सदस्य ज्ञानी नेपाली र राक्सेकालिका आमा समूहका प्रतिनिधि कमला थापा, रेवती खनाल, पदम गुरुङलगायतले राजनीतिमा महिला सहभागिता अपरिहार्य रहेको विचार व्यक्त गर्नुभयो ।
यो अभियान २०८४ सालसम्म सञ्चालन हुने छ । अभियानले न्यायिक समतामूलक समाजको निर्माण गर्न टेवा पुर्याउने लक्ष्य लिएको छ । जहाँ महिलाको अर्थपूर्ण सहभागिता रहने छ । राज्यका हरेक निर्णायक तहमा ‘महिला नै पहिला’ भनेर अनुपम यात्रा देशव्यापी अभियान सुरु भएको हो । महिलावादी मञ्च गठन गरी पूर्व मेची र पश्चिम महाकालीबाट सुरु गरी हरेक जिल्लामा बस, पैदल, ट्याम्पो यात्रा गर्दै विभिन्न स्थानीय तहका वडासम्म पुग्ने गरी अभियान अगाडि बढाइएको अधिकारकर्मीले बताएका छन् ।
महिला अनिवार्य रहेको व्यवस्थालाई समेत ‘गठबन्धन’ र ‘वा’ जस्ता शब्दको दुरुपयोग गर्दै कानुनमा छिद्र खोजेर महिलाको अर्थपूर्ण सहभागितालाई पाखा लगाउने काम भएको उनीहरूको गुनासो रहेको छ । महिलाको नेतृत्वलाई स्विकार्ने वातावरण बनाउन र राज्यका सबै तहमा महिलाको समतामूलक सहभागिता अनिवार्य बनाउन आउँदो निर्वाचनमा महिलालाई अर्थपूर्ण नेतृत्वमा ल्याउनु अनुपम यात्राको अन्तिम लक्ष्य रहेको अभियानकर्ता हरि देवकोटाले बताउनुभयो ।
गत स्थानीय तहको निर्वाचनमा ७५३ मध्ये २५ वटा स्थानीय तहमा मात्रै महिलाले प्रमुख पदको जिम्मेवारी पाएका छन् । यो सङ्ख्या भनेको कुल निर्वाचित सङ्ख्याको ३.३२ प्रतिशत मात्रै हो । त्यसै गरी प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ २२५ जना महिला निर्वाचन मैदानमा भए पनि नौ जना मात्रै निर्वाचित भएका थिए ।