• ४ फागुन २०८१, आइतबार

रुरुक्षेत्रले आफ्नै गान बनाउने

blog

रुरुक्षेत्र गाउँपालिका।

रमेश विश्वकर्मा 

गुल्मी, फागुन ३ गते। गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले आफ्नै पालिका गान तयार गर्ने भएको छ। पालिका गान तयार गर्नका लागि गाउँपालिकाले प्रक्रिया थालेको छ। गाउँपालिकाले इच्छुक नेपाली नागरिकका लागि पालिकाको गान तयार गर्न सार्वजनिक सूचना जारी गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो।

प्रमुख प्रशासकीय अधिकृत पाण्डेका अनुसार पालिकाको गान रुरुक्षेत्रको समग्र पहिचान खुल्ने हुनुपर्नेछ।  गाउँपालिकाको सामाजिक, सांस्कृतिक, धार्मिक, भौगोलिक, ऐतिहासिक, पुरातात्विक, पर्यटकीयस्थल समेत झल्किने गरी पहिचान गान तयार गर्न खुला रूपमा आह्वान गरिएको प्रमुख प्रशासकीय उहाँले बताउनुभयो। पालिका गान कम्तीमा ५०  देखि १०० अक्षर र बढीमा ७० शब्द १५० अक्षरसम्म हुनुपर्नेछ। 

गानमा प्रयोग भएका शब्दको संक्षिप्त व्याख्यासहित पेस गर्नुपर्ने भन्दै उहाँले गानमा प्रयोग हुने शब्दले कुनै पनि जातीय विभेद, सामाजिक स‌द्भाव, सार्वभौमिकता, राष्ट्रिय एकता र अखण्डतामा आँच आउने खालका सङ्केत वा शब्द प्रयोग गर्न नपाइने बताउनुभयो।

पालिका गानको मूल्याङ्कन गाउँपालिकाको मूल्याङ्कन समितिबाट गरिने हुँदा मूल्याङ्कन समितिबाट प्राप्त परिमार्जन सुझाव अनुसार पालिका गानलाई परिमार्जन गर्नुपर्नेछ। 

पालिका गान एकल रचना गरेको हुनुपर्नेछ, गानको सर्वाधिकार गाउँपालिकामा रहनेछ र सृजनाकारले अन्यत्र प्रयोग गर्न पाइने छैन। छनाेट भएको रचनालाई प्रमाण पत्रसहित नगद पुरस्कार प्रदान गरिने भन्दै उहाँले पालिका गानको स्वीकृति सम्बन्धी सम्पूर्ण अधिकार कार्यपालिकामा निहित रहने बताउनुभयो।