• ४ फागुन २०८१, आइतबार

बाक्लो हुस्सुसँगै चिसो बढेपछि जनजीवन प्रभावित

blog

शनिबार बिहानैदेखि बाक्लो हुस्सुले ढाकेको फुङ्लिङ बजारको दृश्य । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, फागुन ३ गते ।
ताप्लेजुङमा बाक्लो हुस्सुसँगै चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ । चारैतिर ढाक्नेगरी बाक्लो हुस्सुसँगै बढेको चिसोले सदरमुकाम फुङ्लिङसहित जिल्लाको जनजीवन प्रभावित भएको हो ।

हिउँद अर्थात् चिसो यामको अन्त्य भई गर्मी सुरु हुने बेलामा बाक्लो हुस्सु लाग्नुका साथै अत्याधिक चिसो बढेको छ । स्थानीयका अनुसार दुई÷चार दिनयता निरन्तर मौसम धुम्मिएकाले जिल्लामा जाडो बढेको छ । तातो घाम नलागेर चिसो बढिरहेका बेला शनिबार भने बिहानदेखि बाक्लो हुस्सु लागेकाले जिल्लामा निकै जाडो बढेको छ ।

सदरमुकामस्थित फुङ्लिङ नगरपालिका–५ का विक्रम लिम्बूले शनिबार चारैतिर बाक्लो हुस्सुले ढाकेपछि मध्य हिउँद झैँ मौसम चिसो भएको बताउनुभयो । बिहानैदेखि लागेको बाक्लो हुस्सु अपराह्नसम्म पनि नहटेपछि जाडोले सताएको लिम्बूले बताउनुभयो । उहाँका अनुसार हुस्सुसँगै चिसो बढेपछि वृद्धवृद्धा र बालबालिका बढी प्रभावित बनेका छन् ।

हुस्सुका कारण जाडो बढेकाले घरायसी लगायतका काम गर्नलाई समेत असहज भएको सर्वसाधारणको भनाइ छ । यता न्यानो मौसम सुरु भइसकेको अवस्थामा बाक्लो हुस्सु लागेर मौसम चिसो भई दिँदा सदरमुकाम फुङ्लिङ बजारमा चहलपहल पनि पातलिएको छ । चिसो बढेकाले तुलनात्मक रूपमा शनिबार मानिसको चहलपहल निकै घटेको फुङ्लिङ बजारका स्थानीय व्यावसायीले बताएका छन् ।

उता हिउँद यामभर पानी नपरेका कारण हिउँदे बाली तथा खेतीमा असर भइरहेका बेला बाक्लो हुस्सु लागेपछि थप असर पुग्नेभन्दै किसानले चिन्ता व्यक्त गरेका छन् । हुस्सुले आलुलगायतका तरकारी बालीमा डढुवा रोग लाग्ने साथै अन्य फलफूल खेतीलाई पनि हुस्सुले असर गर्नेभन्दै किसान चिन्तित बनेका हुन् । जिल्लामा नगदेबाली अलैँचीसहित किसानले लगाएको हिउँदे बालीमा हिउँद यामभर पानी नपरेको साथै खासै हिउँसमेत नपरेकाले असर पुगिरहेको छ ।